बीबीसी । विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सबैभन्दा महंगो डिजिटल क्रिप्टोकरेन्सी बिटक्वाइन भुक्तानी गरेर कार खरिद गर्न सकिने योजना खारेज गरेको छ ।
बिटक्वाइनको प्रयोग जलवायु परिवर्तनका लागि जिम्मेवार हुने भनी व्यापक बहस भइरहेका बेला टेस्ला सीईओ एलन मस्कले ट्वीट मार्फत् यस्तो घोषणा गरेका हुन् ।
टेस्लाले कार खरिदमा बिटक्वाइन स्वीकार नगर्ने मस्कको ट्वीट सार्वजनिक भएसँगै बिटक्वाइनको मूल्य १० प्रतिशतले घटेको छ भने सेयर मूल्यमा पनि गिरावट आएको छ ।
यसअघि गत मार्च महिनामा टेस्लाले कार खरीदमा क्रिप्टोकरेन्सीको भुक्तानी पनि स्वीकार गर्ने घोषणा गरेको थियो, जसको वातावरणवादी तथा लगानीकर्ताहरुले व्यापक आलोचना गरेका थिए ।
गत जनवरीमा टेस्लाले डेढ अर्ब डलरको बिटक्वाइन खरिद गरेको थियो । मस्कले आफ्नो ट्वीटमा लेखेका छन् ‘बिटक्वाइनको माइनिंग तथा कारोबारमा जीवांश इन्धन, खासगरी सबैभन्दा हानिकारक प्रदुषकको रुपमा रहेको कोइलाको प्रयोग तीव्र रुपमा बढिरहेको कुराले हामीलाई सचेत बनाएको छ । क्रिप्टोकरेन्सी राम्रो अवधारणा हो, तर यसका लागि वातावरणको ठूलो मूल्य चुकाउन सकिँदैन ।’
भुक्तानीमा क्रिप्टोकरेन्सी स्वीकार नगर्ने बताएको टेस्लाले आफूसँग रहेको बिटक्वाइन पनि नबेच्ने प्रष्ट पारेको छ । गत महिना मात्रै टेस्लाले चालू वर्षको पहिलो त्रैमासिकको मुनाफा सार्वजनिक गरेको थियो । सन् २०२१ को पहिलो तीन महिनामा टेस्लाले ४३ करोड ८० लाख डलर मुनाफा गरेको छ र यसमा बिटक्वाइन बिक्रिबाट आर्जन भएको नाफाको हिस्सा पनि उल्लेख्य छ ।
स्मरण रहोस् विश्वमा क्रिप्टोकरेन्सीहरुको वकालत गर्ने हाइप्रोफाइल व्यक्तिहरुमध्येमा एक पर्दछ उनी । मस्कले बिटक्वाइन तथा अर्को डिजिटल मुद्रा डोगेक्वाइनका बारेमा पनि प्रायः ट्वीट गरिरहेका हुन्छन् ।
हालैका महिनाहरुमा मस्कले गरेको ट्वीटकै कारणले सोसल मिडियामा मजाकको विषयको रुपमा शुरुवात भएको क्रिप्टोकरेन्सी डोगेक्वाइन अहिले विश्वको चौथो ठूलो क्रिप्टो करेन्सी बनिसकेको छ ।