काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको खुद मुनाफामा सामान्य सुधार भएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको चालू आवको वित्तीय विवरण अनुसार ५० करोड ६६ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यद्दपि, यसमा कम्पनीले बीमांकीय मूल्यांकनपछि प्राप्त हुने मुनाफा भने गणना गरेको छैन ।
यो गत वर्षको सोही अवधिको तुलनामा ८.३६ प्रतिशतले बढी हो । गत वर्ष तेस्रो त्रैमाससम्म कम्पनीले ४६ करोड ७५ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीले चालू आवको तेस्रो त्रैमासमा कमाएको खुद मुनाफा दुई वाणिज्य बैंककोभन्दा धेरै हो । तेस्रो त्रैमासमा सिभिलले ५० करोड र सेञ्चुरी बैंकले ३५ करोड नाफा कमाएका छन् ।

हाल ७ अर्ब १९ करोड चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ कोषमा १ अर्ब १२ करोड रुपैयाँ संचित छ । समीक्षा अवधिमा कम्पनीको जीवनमा कोषको आकार ३२.२५ प्रतिशतले बढेर १ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । खुद बीमा शुल्क ३५.४९ प्रतिशतले बढेर २४ अर्ब ९५ करोड भन्दा बढी पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी भने १.९६ रुपैयाँले घटेर ९.३८ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५८.३७ रुपैयाँबाट घटेर १२३.९२ रुपैयाँमा सीमित भएको छ । मूल्य आम्दानी अनुपात २२५.०९ प्रतिशत रहेको छ ।
कम्पनीले हालसम्म १३ लाख ७० हजार १३६ वटा बीमालेख जारी गरेको छ । कम्पनीले १ अर्ब ४६ करोड ५८ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।