काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा ७ खर्ब २९ अर्ब २ करोड रुपैयाँ विप्रेषण मुलुक भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत चैत मसान्तसम्मको आर्थिक विवरणमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भएको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले घटेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ प्रतिशतले वृद्धि भई ६ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ४.९ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ६६.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १०.२ प्रतिशतले बढेको थियो ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ५५.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १५ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर १४.४ प्रतिशतले वृद्धि भई ८ खर्ब १४ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४.७ प्रतिशतले घटेको थियो ।