काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको खुद मुनाफामा सामान्य सुधार भएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको चालू आवको वित्तीय विवरण अनुसार ३६ करोड ३३ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
यो गत वर्षको सोही अवधिको तुलनामा १०.२६ प्रतिशतले बढी हो । गत वर्ष तेस्रो त्रैमाससम्म कम्पनीले ३२ करोड ९५ लाख १९ हजार रुपैयाँ नाफा कमाएको थियो ।
शिखरले चालू आवको तेस्रो त्रैमाससम्म कमाएको नाफा हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका निर्जीवन बीमा कम्पनीहरुमा सबैभन्दा धेरै हो । समीक्षा अवधिमा कम्पनीले रिइन्स्योरेन्स कमिशन बापत ४६ करोड ४९ लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्य आयबाट १३ करोड ३५ लाख आम्दानी गरेको छ ।

हाल १ अर्ब ७५ करोड चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ कोषमा ६१ करोड ७६ लाख रुपैयाँ संचित छ । समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार १७.१८ प्रतिशतले बढेर १ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । कम्पनीको खुद बीमा शुल्क आर्जन ११.९७ प्रतिशतले बढेर १ अर्ब ८ करोड भन्दा बढी पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी भने ४१.५५ रुपैयाँबाट घटेर २७.५५ रुपैयाँमा झरेको छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ २८१.३४ रुपैयाँबाट घटेर २१०.९४ रुपैयाँमा सीमित भएको छ । मूल्य आम्दानी अनुपात ६९.७० प्रतिशत रहेको छ ।
कम्पनीले हालसम्म २ लाख ११ हजार ९९६ वटा बीमालेख जारी गरेको छ । कम्पनीले २२ करोड ५४ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।