काठमाडौं । पछिल्लो समय बजारमा चिनीको मूल्य अचाक्ली महँगिएको छ । निषेधाज्ञा अघि प्रतिकेजी ८० रुपैयाँमा पाइने चिनी दुई सातामा प्रतिकिलो १५ रुपैयाँ बढेर ९५ रुपैयाँसम्म पुगेको छ ।
देशभरका होटल, रेष्टुरेन्ट लगायत बन्द हुँदा खपत घटे पनि भाउ भने ह्वात्तै बढेको छ । निषेधाज्ञा अघि करिब ४ महिनालाई पुग्ने स्टक रहेको बताएका चिनी उद्योगीहरुले महामारीको मौका छोपी भाउ बढाउँदा बजारमा मूल्य आकाशिएको हो ।
चिनी उद्योगबाटै मूल्य बढेपछि कतिपय होलसेलले पनि आफूखुसी मूल्य बढाइरहेको खुद्रा व्यापारीहरू बताउँछन् । चिनी उद्योगीहरुले चिनी अभाव भएकोभन्दै एकैपटक किलोमा ८ रुपैयाँसम्म भाउ बढाएपछि त्यसको असर बजारमा देखिएको हो ।
निषेधाज्ञा अघि प्रतिकिलो ७४ रुपैयाँमा चिनी उपलब्ध गराउँदै आएका उद्योगीहरुले अहिले भाउ बढाएर प्रतिकिलो ८२ रुपैयाँसम्म लिने गरेको व्यापारीहरू बताउँछन् । त्यही चिनी खुद्रा बजारसम्म आइपुग्दा प्रतिकिलो ९५ रुपैयाँसम्म पुगेको छ ।
अझै केही महिनालाई पुग्ने चिनी स्टक रहेको अवस्थामै भाउ बढाएर उद्योगीले महामारीलाई कमाउने मौका बनाएको उपभोक्ताको गुनासो छ ।अहिले सरकारी कम्पनी साल्ट ट्रेडिङले प्रतिकिलो ७७.५० रुपैयाँमा चिनी दिइरहेको भएपनि व्यापारीले मौका छोपी अचाक्ली भाउ बढाएका हुन् ।
यता, चिनी मिल उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाल भने चिनीको मूल्य वृद्धि हुनुका कारण आयात रोकिनु बताउँछन् । उनले यो पटक उखु क्रसिङ समेत ४० प्रतिशत मात्र भएको हुँदा अभाव भएको बताए । साथै भारतबाट तस्करी भएर आउने चिनी समेत निषेधाज्ञाले रोकिँदा चिनीको मूल्य बढेको उनले बताए ।
‘होटल, रेष्टुरेन्ट सबै बन्द छ, त्यसले गर्दा चिनीको खपत कम भएकोले घट्नु पर्ने हो तर, यो पटक उखु क्रसिङ जम्म ४० प्रतिशत छ, अरु बेलामा तस्करी भएर आउने चिनी पनि अब निषेधाज्ञले आउन पाएको छैन, त्यसैले चिनीको मूल्य वृद्धि भएको हो,’ अग्रवालले चाणक्य पोष्टसँग भने ।
नेपालमा तस्करीको माध्यमबाट ७० हजार टनका हाराहारीमा वार्षिक चिनी आयात हुने गर्छ । नेपालमा चिनीको माग वार्षिक २ लाख ६५ हजार टन रहेको छ । हाल उद्योगीहरुसँग चिनी २ महिनाका लागि पुग्ने मात्र रहेको छ । हाल ३५ हजार टनका हाराहारीमा चिनी स्टक रहेको उनले बताए ।
साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले बजारमा चिनी अभाव नहोस भनेर रिटेल तथा डिलरलाई चिनी विक्री नगरेको बताए । उनले साल्ट ट्रेडिङसँग चिनी नहुँदा बजारमा चिनीको मूल्य बढ्न सक्ने भएकाले स्टक राखिएको बताए ।
‘हामीले चिनी सबै डिलरलाई पदयौँ भने बजारमा अभाव सृजना हुन्छ जसको फाइदा उठाएर व्यवसायले चिनीको मूल्य बढाउन सक्छन्,’ राजभण्डारीले चाणक्य पोष्टसाग भने ‘अहिले हामीले केही चिनी स्टक राखेका छौँ डिलरलाई बेचेका छैनौँ ।’ साल्ट ट्रेडिङसँग हाल ८०० टन हाराहारीमा चिनी स्टक रहेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुगमन अधिकारी सागर मिश्राका अनुसार आपूर्ति अभाव नहोस भनेर अनुगमन भइरहेको छ । निषेधाज्ञका कारण चिनी खपत कम भएका कारण मूल्य वृद्धि नहुने उनको दाबी छ ।
‘आपूर्ति कम भयो भने मूल्य बढ्ने हो त्यसैले आयातमा अनुगमन गरिरहेका छौँ, तर, मूल्य बढ्ने हुँदैन, होटल, रेष्टुरेन्ट सबै बन्द भएकाले खपत पनि कम छ, बरु मूल्य घट्छ, बट्दैन,’ मिश्राले चाणक्य पोष्टसँग भने ।
नेपालमा वार्षिक २ लाख ६५ हजार मेट्रिक टन चिनी खपत हुँदै आएको छ । चिनी उत्पादक संघको तथ्यांक अनुसार नेपालमा ४ जनाको परिवारले एक वर्षमा १० किलोसम्म चिनी खपत गर्छन् ।