काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा झन्डै दोब्बरले वृद्धि भएको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ३ करोड ५१ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
यो गत वर्षको सोही अवधिको तुलनामा ९३.०४ प्रतिशतले बढी हो । गत वर्ष तेस्रो त्रैमाससम्म लघुवित्तले १ करोड ८२ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा वृद्धि भएसँगै खुद नाफा उल्लेख्य रुपमा बढेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५५.७८ प्रतिशतले बढेर ११ करोड ८० लाख रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले ७ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै, सञ्चालन नाफा पनि १२१.५८ प्रतिशतले बढेर २ करोड ८९ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो नाफा १ करोड ३० लाख रुपैयाँ थियो ।
हाल ७ करोड ९२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १२ करोड ६७ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा लघुवित्तले १ अर्ब ३७ करोड सापटी र ६६ करोड निक्षेप संकलन गरी कुल १ अर्ब ९८ करोड कर्जा लगानी गरेको छ ।
खुद नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी २०.८६ रुपैयाँले बढेर ५९.१९ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ २६०.०१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३९.३१ रुपैयाँ रहेको छ ।