अब सवारीसाधनको राजस्व अनलाइनबाटै तिर्न सकिने
चाणक्य पोष्ट
प्रकाशित : 3:59 pm, शुक्रबार, वैशाख २४, २०७८

काठमाडौं । अब वाग्मती प्रदेशका यातायात कार्यालयमा बुझाउनु पर्ने सवारीसाधन सम्बन्धी सम्पूर्ण राजश्व अनलाइनबाटै तिर्न सकिने भएको छ ।

 

वाग्मती प्रदेश सरकारले ‘विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली, २०७८’ स्वीकृत गरेसँगै यस्तो व्यवस्था हुन लागेको हो ।

 

नियमावली स्वीकृत भइ राजपत्रमा प्रकाशित भएसँगै अनलाइन माध्यमबाटै राजश्व भुक्तानी गर्ने बाटो खुलेको हो । यो नियमावली कार्यान्वयनमा आएपछि सवारीसाधन कर, चालक अनुमति पत्र दस्तुर, नवीकरण शुल्क, जरिवाना लगायत राजश्व अनलाइनबाटै तिर्न सकिने छ ।

 

नेपालमा पहिलो पटक अनलाइनबाट यातायात सम्बन्धी सबै रकम बुझाउने व्यवस्था गरिएको वाग्मती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

 

अनलाइनबाटै राजश्व तिर्ने व्यवस्था कार्यान्वयनमा आएपछि घण्टौं लाइन बसेर राजश्व तिर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ भने सेवाग्राहीले घरबाटै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिजिटल वालेट लगायत विद्युतीय माध्यमबाट सहजै राजश्व तिर्न सक्नेछन् ।