काठमाडौं । एनएमबी बैंकले जेठ २ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने गर्ने भएको छ। बैंकले १० वर्षे अवधिको ‘एनएमबी ऋणपत्र ८.५-२०८७/८८’ नामको ऋणपत्र विक्री गर्न लागेको हो ।
उक्त ऋणपत्रमा लगानी गर्नेले वार्षिक ८.५ प्रतिशत ब्याजदर पाउने छन् । लगानीकर्तालाई ब्याज ६६ महिनामा दिने बैंकले जनाएको छ ।
बैंकले प्रतिकित्ता १ हजार दरको कुल २० लाख कित्ता निष्काशन गर्ने भएको हो । निष्काशन हुने कुल ऋणपत्र मध्ये १२ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने ८ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।
सर्वसाधरणका लागि छुट्याइएको ८ लाख कित्तामध्ये ५ प्रतिशत (४० हजार कित्ता) सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी ७ लाख ६० हजार कित्तामा सर्वसाधारण आवेदन दिन सक्नेछन्।
इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन । बैंकको ऋणपत्रमा जेठ ५ गतेसम्म आवेदन दिन पाइनेछ । सो अवधिमा सबै ऋणपत्र नबिकेमा ढिलोमा जेठ १६ गतेसम्म आवेदन दिन सकिने छ । ऋणपत्रको निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।
बैंकको ऋणपत्रलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर ए माइनस’ रेटिङ प्रदान गरेको छ । यसले बैंक समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।