कर्णाली । कर्णाली प्रदेश साहसिक खेलहरु सञ्चालन गर्न सकिने प्रशस्त सम्भावना भएको भूमि हो । यहाँ बन्जी जम्पिङ्, हेली स्किइङ, रक क्लाइम्बिङ, स्किइङ, साइक्लिङ, माउन्टेन क्लाइम्बिङ, केभिङ, हाइकिङ, माउन्टेन बाइकिङ्, प्याराग्लाडिङ र र्याफ्टिङ लगायतका खेल सञ्चालन हुन सक्ने यथेष्ट आधारहरु छन् । यो अवस्था हुँदाहुँदै पनि ती खेलसँग सम्बन्धित आवश्यक दक्ष जनशक्ति, पूर्वाधार तथा व्यावसायिक योजना अभावले यी खेल सञ्चालन गर्न सकिएको छैन ।
साहसिक खेलहरुमध्येको र्याफ्टिङ खेल भने कर्णाली प्रदेशभित्रका कर्णाली र भेरी नदीमा सञ्चालन हुँदै आएको छ । र्याफ्टिङ खेलका हिसाबले भेरी र कर्णाली उत्कृष्ट एवं निकै सम्भाव्य मानिन्छन् । जसका कारण आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएका छन् । खासगरी असोजदेखि जेठ महिनाको अवधिमा ती दुई नदीमा र्याफ्टिङ सञ्चालन हुने गर्दछ ।
एकसाता अघिसम्म भेरी नदीमा ¥याफ्टिङ खेल्ने अर्थात जलयात्रा गर्ने आन्तरिक पर्यटक राम्रै देखिन्थे । पछिल्लो एक वर्ष यता भेरी नदीमा बाह्य पर्यटक भन्दा आन्तरिक पर्यटकहरु आउने क्रम बढेको पाइएको छ । पहिलो चरणको कोरोना सङ्क्रमण कम हुँदै गएपछि असोज यता ¥याफ्टिङ व्यवसायीहरुले व्यवसाय सञ्चालन गरे र आन्तरिक पर्यटकहरुको आकर्षण पनि बढ्यो ।
गत वर्षदेखि कोरोना महामारीले चल्न नसकेको यो व्यवसाय चालू आव २०७७/७८ को असोजदेखि चैतसम्म राम्रै चल्यो । यस अवधिमा छ हजार ७२२ पर्यटकले भेरी नदीमा जलयात्रा गरेको कर्णाली र्याफ्टिङ एण्ड एडभेन्चरस् प्रालि कैलालीका सञ्चालक देवराज जोशीले जानकारी दिए । “यो वर्ष भेरी नदीमा र्याफ्टिङ गर्नेको सङ्ख्या अपेक्षाभन्दा बढ्यो,” उनले भने, “यहाँ आउने बढी आन्तरिक पर्यटकहरु छन् ।”
र्याफ्टिङ गाइडको समेत कामगर्दै आएका सञ्चालक जैसीले असोज यता भेरी नदीमा मात्र ६ हजार ७२२ जना पर्यटकले जलयात्रा गरेको बताए । त्यस क्रममा सिक्किमका मुख्यमन्त्रीको कार्यालयका नौ जना सरकारी अधिकारीले पनि जलयात्रा गरेको उनले जानकारी दिए।
प्रतिव्यक्ति १ हजार ५०० रुपैयाँका दरले शुल्क लिएर २० देखि ३० किलोमिटर जलयात्रा गराउँदा र्याफ्टिङ पर्यटकहरुबाट मात्रै कर्णालीलाई न्यूनतम ६७ लाखदेखि बढीमा १ करोड ८३ हजार आम्दानी भएको सञ्चालक जैसीको भनाई छ । यद्यपि, कोरोनाका कारण जलयात्रा गर्नेको कमी भने हुँदै गएको छ ।
भेरी नदीको जल प्रवाह शान्त र स्वच्छ भएकाले त्यहाँको प्राकृतिक दृश्यावलोकन गर्न पर्यटकहरु र्याफ्टिङ खेलमा भाग लिने गर्दछन् । र्याफ्टिङ गाइड कमल शाहीका अनुसार भेरी नदी पारिवारिक (आन्तरिक) पर्यटकहरुका लागि उपयुक्त मानिन्छ । जहाँ उनीहरुले नदी क्षेत्रका दृश्यहरुको नजर लगाउँदै फोटो कैद गर्दै मनोरञ्जन लिने गर्दछन् । यो नदी अन्य नदीमा जोखिम नभएको गाइड शाहीको भनाइ छ ।
भेरी नदीमा जाजरकोट राडी ज्यूलादेखि नलगाड नगरपालिकाको दल्ली, रिम्नादेखि चौरजहारी, कुदुदेखि सल्यानको सल्लीबजार, सुर्खेतको मेहलकुनादेखि रानीघाट, बराहतालको तरंगादेखि जामुपञ्चपुरीको जामु पुलदेखि कुईने, घाटगाउँ हुँदै चौकुने भएर कणाली नदी पुग्ने ठाउँसम्म जलयात्राको उत्तम क्षेत्र भएको र्याफ्टिङ व्यवसायीहरुले बताएका छन् । यी क्षेत्रमा दश महिनाभरिमा र्याफ्टिङ व्यवसाय चल्न सक्ने उनीहरुको भनाइ छ । रासस