काठमाडौं । बुधबार सनराइज बैंक र एनसीसी बैंकले आर्थिक वर्ष २०७५/७६ को चोथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
सार्वजनिक विवरण अनुसार दुवै बैंकले सामान्य प्रगति गरेका छन् । दुवै खुद नाफा, सञ्चालन नाफा, खुद ब्याज आम्दानी, निक्षेप संकलन, कर्जा परिचालन लगायतका सूचकमा सुधार गरेका छन् ।
सनराइजको खुद नाफा १ अर्ब ७० करोड, लाभांश क्षमता १३ प्रतिशत
सनराइज बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ७० करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५.५७% ले बढी हो । अघिल्लो वर्ष यसै अवधिमा बैंकले १ अर्ब ४७ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको वितरण योग्य नाफा १ अर्ब ११ करोड रुपैयाँ कायम रहेको छ यसबाट बैंकले सेयरधनीलाई १३% सम्म लाभांश बाँड्न सक्दछ ।
हालसम्म बैंकको चुक्ता पुँजी ८ अर्ब १५ करोड २५ लाख रुपैयाँ रहेको छ । बैंकले गत वर्ष ७५ अर्ब ४३ करोड निक्षेप संकलन गरी ६८ अर्ब ८७ करोड कर्जा लगानी गरेको छ । बैंकको रिजर्भ कोषमा २ अर्ब ५८ करोड ७५ लाख ७० हजार रुपैयाँ रहेको छ ।
बैंककाे रिजर्भकोष भने १०.९२% ले बढाएर २ अर्ब ५८ करोड रुपैयाँ पुर्याएको छ । सनराइजले निक्षेप संकलन र कर्जा प्रवाह क्रमशः ११.९७% र १६.३२% ले बढाएको छ ।
बैंकको प्रतिसेयर आम्दानी पनि २.८१ रुपैयाँले बढेर १८.१३ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५१.४७ रुपैयाँ रहेको छ ।
एनसीसीको नाफा १३ % ले बढ्दा प्रतिसेयर आम्दानी ६.९२ रुपैयाँले घट्यो
नेपाल क्रेडिट एण्ड कर्मस बैंक (एनसीसी) ले आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ५२ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा १३.८१ % (१८ करोड ५३ लाख) ले धेरै हो। अघिल्लो आथिक वर्षमा बैंकले १ अर्ब ३४ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको वितरणयोग्य नाफा १ अर्ब २० करोड छ। जसबाट बैंकले १४ प्रतिशतसम्म लाभांश बाँड्न सक्ने क्षमता राख्दछ।
एनसीसीले असार मसान्तसम्ममा ६७ अर्ब ३ करोड ५६ लाख रुपैयाँ निक्षेप संकलन गरेको गरेको छ भने ६१ अर्ब १३ करोड १८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षको तुलनामा बैंकले निक्षेप संकलन १७.०७% ले वृद्धि गरेको छ भने कर्जा प्रवाह १८.८६% ले बढोत्तरी गरेको छ।
बैंकको जगेडा कोषमा ३ अर्ब ५९ करोड ५९ लाख रुपैयाँ सञ्चित छ। बैंकको शेयरधनी कोषमा भने चमत्कारिक सुधार भएको छ। अघिल्लो आवमा १८ करोड ५९ लाख रहेको सेयरधनी कोष ८३२ प्रतिशत बढेर एक अर्ब ७३ करोड पुगेको छ ।
खुद नाफा बढे पनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ।अघिल्लो आर्थिक वर्षमा २८.६७ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानीमा ६.९२ रुपैयाँले घटेर २१.७५ रुपैयाँमा झरेको छ।बैंकको प्रतिसेयर नेटवर्थ १७८.३८ रुपैयाँ रहेको छ ।