काठमाडौं। विभिन्न आयोजनाको ठेक्का लिएर समयमै काम सम्पन्न नगर्ने ९ कम्पनी कालो सूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का सम्झौता अनुसार काम नगर्ने दुई चिनियाँसहित ९ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।
कार्यालयले सार्वजनिक खरिद ऐन,२०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीहरुलाई १ वर्षदेखि ३ वर्षसम्म कालोसूचीमा राखेको हो । कालोसूचीमा परेका कम्पनीहरुले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरीद कारबाहीमा भाग लिन पाउने छैनन्।
कार्यालयले, पशु सेवा विभाग र केन्द्रीय रिफरल पशु चिकित्सालय काठमाडौंको सिफारिसमा कौशिकी इन्फोसिस इन्टरनेशनल काठमाडौं, स्थानीय पूर्वाधार विकास विभाग र सस्पेन्सन ब्रिज डिभिजन ललितपुरको सिफारिसमा अधिकारी निर्माण सेवा गोरखा, अर्जुनधारा नगरपालिका झापाको प्रस्तावमा कार्की सप्लार्यसलाई १ वर्षका लागि कालोसूचीमा राखेको छ ।
यसैगरी, त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानको पोखराको प्रस्तावमा बराह गोबरग्यास तथा नवीकरणीय ऊर्जा काठमाडौं, जलस्रोत तथा सिंचाइ विकास डिभिजन संखुवासभाको प्रस्तावमा बेलका कन्स्ट्रक्सन इलामलाई पनि १ वर्षका लागि कालोसूचीमा राखिएको छ
कार्यालयले सिंचाइ डिभिजन रामेछापको सिफारिसमा राम्चे सिद्ध निर्माण सेवा उदयपुर, जलस्रोत तथा सिंचाइ डिभिजन रामेछापको सिफारिसमा राम्चे सिद्ध निर्माण सेवा उदयपुर र नेपाल विद्युत प्राधिकरणको सिफारिसमा सिनोस्टील इक्विपमेन्ट एण्ड इन्जिनीयरिङ र सान्दोङ झावइ स्टील टावर कम्पनी चीनलाई २ वर्षका लागि कालोसूचीमा राखेको छ ।
यसैगरी, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सर्लाहीको सिफारिसमा शिवराम कन्स्ट्रक्सन दोलखालाई ३ वर्षका लागि कालो सूचीमा राखिएको छ ।