काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । बुधबार ५ अंकले घटेको बजारमा आज दोहोरो अंकको गिरावट आएको हो ।
सूचकमा गिरावट आए पनि कारोबार रकममा भने उत्साहजनक नै रहेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब ७५ करोडले बढेर पौने ७ अर्ब पुगेको छ ।
आज सेयर बजार मापक सूचक नेप्से १२.४७ अंकले घटेर २६३७.१३ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१६ कम्पनीको ६ अर्ब ८१ करोड ९१ हजार ४५३ रुपैयाँ बराबरको १ करोड ५९ लाख ८० हजार ८१५ कित्ता सेयर किनबेच भएका छन् ।
आइतबार कारोबारमा आएका १३ वटा समूहमध्ये ३ समूहको परिसूचकमा हरियाली छाएको छ भने १० समूहको परिसूचक राताम्मे भएका छन् । बैंकिड. समूह सबैभन्दा धेरै ७.११ अंकले बढेको छ भने जीवन बीमा समूह २३९.३३ अंकले घटेको छ ।
कारोबारमा आएका २१६ कम्पनीमध्ये ५४ कम्पनीको सेयर मूल्य बढेको छ भने १४७ कम्पनीको घटेको छ । १५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज एचआडीसीएलको सर्वाधिक कारोबार भएको छ । यसको ४६ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा एनसीसी बैंक ४२ करोड र लक्ष्मी बैंक २२ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।
दोहोरो अंकले घटेको बजारमा पनि आज ७ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । जनउत्थान लघुवित्त र खानीखोला हाइडोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
यसैगरी, महिला लघुवित्त, समता घरेलु लघुवित्त, रुरु जलविद्युत्, युनियन हाइडोपावर, र जोशी हाइडोपावरका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।
घट्दो बजारमा आज विशाल बजार कम्पनीको सेयर मूलयमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।