नयाँ दिल्ली । पछिल्लो समय भारतमा दिनदिनै पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुन थालेको छ । मंगलबार मात्र मूलयवृद्धि गरेको भारतले बुधबार पनि पेट्रोल र डिजेलको भाउ बढाएको हो ।
बुधबार पेट्रोलको मूल्य प्रतिलिटर भारु १९ पैसा र डिजेलको मूल्य भारु २१ पैसा वृद्धि भएको छ । राजधानी नयाँ दिल्लीमा पेट्रोल प्रतिलिटर भारु ९०.७४ (१४५.१५ नेपाली रुपैयाँ) कायम भएको छ भने डिजेलको मूल्य भारु ८१.१२ (१२९.७९ नेरु) रहेको छ ।
भारतीय तेल कम्पनीहरुले मङ्गलबार पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेका थिए । मङ्गलबार प्रतिलिटर पेट्रोलमा ६७ पैसा र डिजेलमा १८ पैसा वृद्धि भएको थियो ।
सरकारी स्वामित्वका इन्डियन आयल कर्पोरेसन, बिपिसिएल र एचपिसिएलले गत वर्षको मार्च यता पेट्रोलमा प्रतिलिटर भारु २१.५८ र डिजेलमा भारु १९.१८ ले वृद्धि गरिसकेका छन् ।
भारतमा लगातार पेट्रोलियम पदार्थ मूल्य वृद्धि भएपछि नेपालमा पनि त्यसको प्रभाव पर्ने देखिन्छ । नेपाल आयल निगमले हरेक १५ दिनमा इन्डियन आयल कर्पोरेशनले पठाएको मूल्य अनुसार नेपालमा पनि भाउ बढाउँदै आएको छ ।