काठमाडौं । वैदेशिक लगानीको स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षमा सामान्य प्रगति गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफामा १४५ ले वृद्धि गरेको छ ।
बुधबार सार्वजनिक आर्थिक वर्ष २०७५/०७६ को वित्तीय विवरण अनुसार बैंकले २ अर्ब ४९ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिललो आर्थिक वर्षको तुलनामा ३१ करोडले बढी हो । बैंकले अघिल्लो आर्थिक वर्षमा २ अर्ब १८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८० करोड कायम भएको छ। यसबाट बैंकले शेयरधनीलाई २२ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने क्षमता राख्दछ ।
चार्टर्ड बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ७५ अर्ब ७३ करोड निक्षेप संकलन गरी ५३ अर्ब ११ करोड कर्जा लगानी गरेको छ । बैंकले गत वर्ष ३ अर्ब ५२ करोड ३१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन नाफा ३ अर्ब ४८ करोड ७ लाख छ ।
बैंकको जगेडा कोषमा ५ अर्ब १७ करोड २८ लाख तथा शेयरधनी कोषमा एक अर्ब ८० करोड ३४ लाख सञ्चित छ ।मुनाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा ३.८२ रुपैयाँले बढेर ३१.१५ रुपैयाँ पुगेको छ। चार्टर्डको प्रतिशेयर नेटवर्थ १८७.०८ रुपैयाँ रहेको छ ।
सीमित सहरहरुमा मात्रै शाखा विस्तार गरेको यस बैंकले अन्य वाणिज्य बैंकहरुसँग प्रतिस्पर्धामा उत्रन नयाँ रणनीति अपनाउनु पर्ने जरुरी देखिन्छ ।