काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासिक विवरण सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक विवरण अनुसार बैंकले ४ अर्ब २९ करोड ४१ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
यो अघिल्लो वर्षको तुलनामा ७.८४% ले बढी हो । नबिलले अघिल्लो वर्षको यसै अवधिमा ३ अर्ब ९८ करोड १८ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गर्ने वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक दोस्रो भएको छ । गत वर्ष सबैभन्दा धेरै नाफा कृषि विकास बैंकले ४ अर्ब ३५ करोड कमाएको छ ।
नबिलको वितरण योग्य नाफा भने ३ अर्ब १८ करोड ४६ लाख ३९ हजार रुपैयाँ रहेको छ । जसबाट बैंकले ३५% सम्म लाभांश बाँड्ने क्षमता राख्दछ । बैंकको रिजर्भ कोषमा ९ अर्ब ३३ करोड रुपैयाँ जगेडा रहको छ ।
नबिलले चुक्ता पुँजी १२.०४% ले बढाएर ९ अर्ब १ करोड १८ लाख ४५ हजार रुपैयाँ पुर्याएको छ । नबिलको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः १७.१५% र ७.५९% ले बढोत्तरी भएको छ । बैंकले निक्षेप संकलन २१.९२% र कर्जा प्रवाह १८.५४% ले बढाएको छ ।
बैंकको नाफा बढे पनि प्रतिसेयर आम्दानी भने घटेको छ । नबिलको प्रति सेयर आम्दानी अघिल्लो वर्षको तुलनामा १.८६ रुपैयाँले घटेर ४७.६५ रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसै अवधिमा नबिलको प्रतिसेयर आम्दानी ४९ रुपैयाँ ५१ पैसा रहेको थियो । नबिलको प्रतिसेयर नेटवर्थ २५८.६ रुपैयाँ रहेको छ ।