प्रधानमन्त्रीको तुइन मुक्त अभियानः १२१ वटा हटाइए, ५४ वटा हटाउनै नसकिने

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ सालसम्ममा नेपाललाई तुइन मुक्त बनाउने भएको छ । ‘सस्पेन्सन ब्रिज’ डिभिजनका अनुसार यो आर्थिक वर्षभित्र सबै तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरिने छ । डिभिजनका उपसचिव हुमाकान्त मिश्रले यो वर्ष ठेकेदारले सरासर काम गरे सम्भवतः सबै तुइन हट्ने बताए । उनले सो तुइन हटाइएका ठाउँमा झोलुङ्गे पुल निर्माण गरिने जानकारी दिए ।

गत आर्थिक वर्ष २०७५/७६ सम्ममा १ सय २१ वटा तुइन हटाएर झोलुङगे पुल निर्माण भइसकेको डिभिजनले जानकारी दिएको छ । अहिले देशभरीमा ७४ वटा तुइन हटाउन बाँकी रहेकोमा चालु वर्षमा १९ स्थानका तुइन हटाइने डिभिजन कार्यालयको योजना रहेको छ । बाँकी रहेका ५४ वटा तुइन भने हटाउनै नसकिने अवस्थामा रहेका छन् । तुइन हटाइएको स्थानमा नयाँ झोलुङ्गे पुल बनाइने डिभिजनले जनाएको छ ।विस्थापन गरिने १९ वटा तुइन मध्ये १५ वटा डिभिजन र ४ वटा जिल्ला समन्वयन समितिले हटाउने छन् । र, सो स्थानमा झोलुङ्गे पुल निर्माण गरिनेछ ।

 

५४ वटा तुइन हटाउनै नसकिने

 

सस्पेनसन ब्रिज डिभिजनले विभिन्न स्थानका ५४ वटा तुइन हटाउनै नसकिने जानकारी दिएको छ । नेपालभर निर्माणका लागि माग भएका मध्ये ५४ वटा तुइन नहटने भएका हुन् । ती तुइन भएका स्थानमा झोलुङगे पुल निर्माणको सम्भाव्यता नभएका कारणले अहिले हटाउन नसकिने डिभिजनका इन्जिनीयर मिश्रले जानकारी दिए । केही तुइन भएका स्थानमा सडक पुल निर्माण हुने भएकाले सो स्थानमा पुल निर्माण दोहोरिने भएकाले तुइन नहटाइने निर्णय भएको डिभिजनले जनाएको छ ।

 

त्यस्ता पुल निर्माण दोहोरिने १० वटा तुइन रहेका छन् । यसैगरी, जग्गा विवादले २ वटा तुइन नहट्ने भएका छन् । सो २ वटा तुइन हटाइ झोलुङ्गे पुल निर्माणको टेन्डर भए पनि निर्माण गर्न नसकिने भएपछि डिभिजनले निर्माण नगर्ने निर्णय लिएको मिश्रले बताए । यस्तै कतिपय तुइन निजी रुपमा समेत बनेकाले सो पुल पनि हटाउन नसकिएको डिभिजनले जनाएको छ । निजी तुइनहरु जलविद्युत्त उत्पादन गर्न पानीको सतह नाप्न (गेजीङ) प्रयोग गरिन्छ । यस्ता गेजीङ स्थानमा भएका तुइन हटाउन नपाइने भएकाले सो ठाउँमा झोलुङगे पुल निर्माण नहुने डिभिजनले जनाएको छ ।

 

यसैगरी कतिपय ठाउँमा बसोबास नभएको र घाँस काट्नका लागि मात्र तुइनको प्रयोग गरि आवत जावत गर्ने ठाउँ भएकाले त्यस्ता ठाउँमा समेत झोलुङगे पुल निर्माण गर्ने सम्भावना नभएको हो । त्यसता ठाउँमा फाउन्डेशन (जग) निर्माण गर्न नमिल्ने भएपछि त्यहाँ तुइन नहटाइने भएको डिभिजनले जनाएको छ ।

 

२०७२ सालमा प्रधानमन्त्री केपी ओलीले २ वर्षभित्र तुइन हटाउने घोषणा गरेका थिए । सो घोषणा अनुसार सरकारले तुइन हटाउने कार्यलाई तीव्रता दिएको हो ।

 

चालू वर्षमा १३५ नयाँ झोलुङ्गे पुल निर्माण हुने

 

डिभिजनले यो आर्थिक वर्षमा १ सय ३५ वटा नयाँ झोलुङ्गे पुल निर्माण गर्ने भएको छ । हाल १ सय ४१ पुल निर्माणाधिन अवस्थामा रहेका छन् । २०७५ सालमा डिभिजनले ५३ वटा झोलुङगे पुल निर्माण सम्पन्न गरेको छ । ७० वटा झोलुङगे पुल निर्माण सम्पन्न गर्ने लक्ष्य भएता पनि ५३ वटा मात्र झोलुङगे पुल निर्माण सम्पन्न भएको हो ।

 

आर्थिक वर्ष २०७५/७६ सालमा पुल निर्माण गर्ने लठ्ठा नभएकाले लक्ष्य पुरा हुन नसकेको डिभिजनले जनाएको छ । पुल निर्माण गर्दा प्रयोग हुने सो लठ्ठा भारतबाट आउने गर्छ । लठ्ठा आपूर्ति (सप्लाइ) समयमै हुन नसकेपछि लक्ष्य पूरा गर्न नसकिएको मिश्रले जानकारी दिए ।  ‘लठ्ठा भारतबाट आउँछ, लठ्ठा बिना पुल निर्माण गर्नै मिल्दैन, त्यसको सप्लाई ढिलो भएकाले लक्ष्य पुरा हुन सकेन,’ इन्जिनीयर मिश्रले भने ।
गत वर्ष पुल निर्माणका लागि ९५ करोड रुपैयाँ विनियोजन भएको थियो । सो वर्ष सबै बजेट खर्च भएको डिभिजनले जनाएको छ ।
यस्तै थप १ सय ४१ वटा झोलुङगे पुल निर्माणका लागि निर्देशन आएको उनले जानकारी दिए ।

 

नेपालमा २ प्रकारका झोलुङगे पुल बन्छन् । एउटा, टावर भएको जसलाई सस्पेन्डेड भनिन्छ भने अर्को, ‘डि’ आकारको झोलुङगे पुल हुन्छ जसलाई सस्पेन्सन भन्निछ ।

 

भारतीय सीमा जोडिएको स्थानमा जग्गा विवाद कायमै

 

भारतको जमिन पर्ने ५ स्थानमा पुल निर्माणका लागि २०७२ सालमै टेन्डर भए पनि भारत सरकार सहमत नभएपछि सो टेन्डर रद्द भएको थियो ।
हाल ४ स्थानमा तुइन हटाएर झोलुङगे पुल निर्माण गर्ने विषयमा भारत सहमत भएको डिभिजनले जनाएको छ । भारतीय सीमा जोडिएको बैतडीको पञ्चेश्वर घाटमा तुइन हटाएर झोलुङगे पुल निर्माण गर्न अझै भारत सहमत हुन सकेको छैन् ।

विद्युत प्राधिकरणको नाफा एक वर्षमै ४ अर्बले बढ्यो Read Previous

विद्युत प्राधिकरणको नाफा एक वर्षमै ४ अर्बले बढ्यो

सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक दोस्रो Read Next

सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक दोस्रो