काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नाफा १४९ प्रतिशतले बढेको छ । प्राधिकरणले आर्थिक २०७५/७६ को असार मसान्तसम्ममा ७ अर्ब २० करोड खुद नाफा कमाएको छ।
अघिल्लो आर्थिक वर्षमा प्राधिकरणले २ अर्ब ९० करोड नाफा कमाएको थियो । प्राधिकरणको नाफा एक वर्षमै ४ अर्ब ३० करोडले बढेको हो।
गएको वर्ष प्राधिकरणले सरकारको ढुकुटीमा भने १५ अर्ब ५९ करोड रुपैयाँ जम्मा गरेको छ। उसले साँवा, ब्याज र रोयल्टी गरी कूल १५ अर्ब ५९ करोड बुझाएको हो।
गएको वर्ष नेपालका ४५ लाख जनसख्यामा बिजुलीको पहुँच पुगेको छ। पहुँच १० प्रतिशतले बढेको प्राधिकरणले जानकारी दिएको छ।
गएको वर्षसम्म नेपालमा उत्पादन विद्युत ७ अर्ब ५५ करोड युनिट (किलोवाट आवर) रहेको छ। यसमा प्राधिकरणले ३४, निजी उत्पादकको २९ र भारतबाट आयात गर्ने बिजुलीको हिस्सा ३७ प्रतिशत रहेको छ।
प्राधिकरणले गएको वर्ष कूल ३७ अर्ब १६ करोडको बिजुली किनेको छ। यसमा भारतबाट मात्र २३ अर्ब ३ करोडको किनेको हो। बाँकी स्वदेशकै निजी उत्पादकबाट किनेको हो।