अमेरिकाको व्यापार घाटा चुलिँदो, मार्चमा ७४ अर्ब डलर घाटा

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको अर्थतन्त्रमा पछिल्ला केही महिनादेखि सुधार आइरहे पनि गत मार्च महिनामा व्यापार घाटा ७४.४ अर्ब डलरमा पुगेको छ । विदेशी सामानको आयात बढेसँगै व्यापार घाटा बढेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

 

गत फेब्रुअरी महिनामा रहेको व्यापार घाटा ७०.५ अर्ब डलरको तुलनामा मार्चमा यस्तो घाटा ५.६ प्रतिशतले वृद्धि भएको अमेरिकी वाणिज्य विभागले जनाएको छ ।

 

आयात ६.३ प्रतिशतले वृद्धि भएर २७४.५ अर्ब डलर पुगेको छ भने निर्यातमा पनि ६.६ प्रतिशतले सुधार आएर २०० अर्ब डलर पुगेको छ । डलर खाताका आधारमा निर्यात भन्दा आयात निकै बढी भएको छ ।

 

राजनीतिक रुपमा निकै संवेदनशील मान्ने गरिएको चीनसँगको व्यापार घाटामा सुधार आएको छैन, बरु चीनसँगको व्यापार घाटा ११.६ प्रतिशतले वृद्धि भएर २७.७ अर्ब डलर भएको छ । स्वाभाविक रुपमा अमेरिकाको चीनसँगको व्यापार घाटा अंक सबैभन्दा बढी छ ।

 

यस वर्षका पहिलो तीन महिना अर्थात् जनवरी, फेब्रुअरी र मार्च महिनामा अमेरिकी व्यापार घाटा कूल २१३ अर्ब डलर भएको छ जुन गत वर्षको सोही अवधिको भन्दा झण्डै ६४ प्रतिशतले बढी छ । उक्त अवधिमा कोरोनाभाइरस महामारीका कारण अमेरिकाका धेरैजसो स्थानमा कडा प्रतिबन्ध र लकडाउन गरिएका थिए ।

 

संयुक्तराज्य अमेरिकाको सन् २०२० मा ६८१ अर्ब डलर व्यापार घाटा थियो । यो अंक सन् २००८ यताकै सबैभन्दा बढी हो ।

जनउत्थान लघुवित्तको बम्पर लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

जनउत्थान लघुवित्तको बम्पर लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

आइपीएल स्थगित हुँदा आयोजकलाई ३२ अर्ब नोक्सानी हुने Read Next

आइपीएल स्थगित हुँदा आयोजकलाई ३२ अर्ब नोक्सानी हुने