काठमाडौं । चर्चित टी ट्वान्टी क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आइपीएल) स्थगित हुँदा २ हजार करोड भारु (करिब ३२ अर्ब नेपाली रुपैयाँ)भन्दा बढीको नोक्सान हुने भएको छ ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)का अनुसार आइपीएल स्थगित हुँदा २ हजार करोडदेखि २ हजार ५०० करोडसम्म नोक्सान हुने प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ ।
जारी प्रतियोगितामा आठौँ चरणका खेलहरु चल्दै गर्दा कोलकाता नाइट राइडर्सका दुई खेलाडी, सनराइजर्स हैदराबादका एक खेलाडी र चेन्नई सुपर किंग्सका तीन अधिकारीहरुमा कोरोना देखिएपछि मंगलबार बोर्डले आइपीएल स्थगित गर्ने निर्णय गरेको छ ।
“मध्य समयमा प्रतियोगिता स्थगित गर्नुपर्दा हामीले २,००० करोडदेखि २,५०० करोड गुमाउनुपर्नेछ । मलाई लाग्छ, करिब २,२०० करोड नोक्सान हुन्छ भन्नु सही अनुमान हुनेछ,” बीसीसीआईका एक अधिकारीले भनेका छन् । प्रतियोगिताअन्तर्गतका ६० खेलमध्ये २९ खेल मात्र सम्पन्न भएको छ ।
बोर्डको लागि सबैभन्दा ठूलो नोक्सान प्रतियोगिताको प्रसारण अधिकार पाएको स्टार स्पोर्ट्सबाट हुनेछ । उसले १६ हजार ३४७ करोडमा प्रतियोगिताका खेलहरु प्रसारण गर्ने गरी पाँच वर्षका लागि सम्झौता गरेको छ । तर, ३१ वटा खेल स्थगित भएपछि स्टार स्पोर्ट्सबाट वार्षिक पाउने तीन हजार २६९.४ भारुमध्ये बीसीसीआईले एक हजार ६९० करोड गुमाउनुपर्नेछ ।
प्रतियोगिता बीचमै स्थगित भएपछि अन्य प्रायोजकहरुबाट प्राप्त गर्ने रकममा समेत भारी कटौती हुनेछ ।