काठमाडौं । काठमाडौं महानगरपालिकाले थप २ ठाउँमा वाटर एटीएम सञ्चालनमा ल्याएको छ । महानगरले वडा नं. १० बानेश्वरको छक्कुपक्कु पार्क र वडा नं. ४ शंखपार्कमा वाटर एटीएम संचालनमा ल्याएको हो ।
यसअघि महानगरले गत माघ २९ गते शंखधर पार्क (रत्नपार्क) टिकट काउन्टरसँगै, स्वयम्भु भगवान पाउ र बालाजु उद्यान प्रवेशद्वारसँगैका वाटर एटीएम स्टेशनहरु सञ्चालनमा ल्याएको थियो ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले उपत्यकाका १५ ठाउँमा वाटर एटीएम जडान गर्दैछ । बोर्डका अनुसार ३ महिनाको सञ्चालन व्यवस्थापन खर्चसहित प्रतिएटीएम जडानको खर्च करिब १५ लाख ८६ हजार रुपैयाँ पर्छ । उपत्यकाका सबै प्रणाली जडान गर्दा करिब २ करोड रुपैयाँ खर्च हुनेछ ।
अहिलेको प्रणालीभित्रै १ हजार ५०० लिटरको र त्यससँगै छेउमा ५ हजार लिटरको ट्याङ्की राखिएको छ । मेलम्चीको पानी वितरण भएपछि मेलम्चीको पाइप प्रणालीमा सोझै जडान गर्ने योजना रहेको जनाइएको छ ।
वाटर एटीएममा शुरुमा २ रुपैयाँको सिक्का राखेपछि एउटा २०० मिलिलिटर पानी अट्ने कप र २०० मिलिलिटर पानी पाइन्छ । त्यसपछिका हरेक २०० मिलिलिटरको पानीको मूल्य १ रुपैयाँ पर्छ । त्यसमा आफूलाई आवश्यकता भएअनुसार पानी लिन सकिने र यदि १ लिटर पानी चाहिने ५ रुपैयाँ तिर्नुपर्नेछ ।