काठमाडौं । नेपाल कृषिप्रधान मुलुक भनिए पनि खाद्यान्नमा परनिर्भरता बढ्दो रहेको छ । समृद्ध नेपालको नारा घन्काउने सरकारले आधुनिक र वैज्ञानिक कृषि प्रणाली अपनाइ कृषि उत्पादकत्व बढाउन नसक्दा वर्षेनि परनिर्भरता बढ्दै गएको हो ।
मुख्य खाद्यान्नको रुपमा रहेको चामल आयात ३४ प्रतिशतले वृद्धि भएको छ । चालू आर्थिक वर्षको ९ महिना (साउन–चैत्र) मा कुल ३९ अर्ब १५ करोड ९४ लाख रुपैयाँ बराबरको चामल तथा धान आयात भएको छ । सो मूल्यमा १ अर्ब ५ करोड केजी चामल आयात भएको भएको थियो ।
चालू आवको सो अवधिमा १४ अर्ब ३५ करोड रुपैयाँ बराबरको धान आयात भएको छ । साथै २१ अर्ब रुपैयाँ बराबरको ननपोलिस चामल आयात भएको छ । यस्तै २ अर्ब रुपैयाँ हाराहारीमा ब्राउन चामल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । १ अर्ब २३ करोड रुपैयाँ बराबरको धानका विउ आयात भएको पाइएको छ ।
गत आर्थिक वर्ष २०७६/७७ को सो अवधिमा २९ अर्ब ९० करोड रुपैयाँ बराबरको चामल तथा धान आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । गत आवमा कुल ३३ अर्ब ६५ करोड १४ लाख रुपैयाँ बराबरको चामल तथा धान आयात भएको थियो ।
गत वर्षको सोही अवधिमा १६ अर्ब १७ करोड रुपैयाँ बराबरको ननपोलिस चामल आयात भएको थियो । ७ अर्ब १६ करोडको धान आयात भएको छ भने ५५ करोडको ब्राउन चामल आयात भएको थियो । २०७५/७६ मा कुल ३२ अर्ब ५९ करोड रुपैयाँ बराबरको चामल आयात भएको थियो ।
चालू आर्थिक वर्षको ९ महिनामा चामल, मकै, दाल, गेडागुडी, तरकारी, फलफूल, लगायत खाद्यवस्तु आयातमा २ खर्ब बढी बाहिरसकेको विभागको तथ्यांक छ ।
धान उत्पादनमा न्यून वृद्धि
माग बढे पनि उत्पादन भने खासै वृद्धि हुन सकेको छैन । चालू आथिर्क वर्षमा ५६ लाख २१ हजार ७१० मेट्रिकटन धान उत्पादन भएको छ । गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा ३.८२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । गत वर्ष ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ मा कम्तीमा ६० लाख मेट्रिक टन धान उत्पादन गर्ने लक्ष्य सरकारले लिएको थियो । धान उत्पादन प्रतिहेक्टर ३.१ मेट्रिक टनबाट वृद्धि गरी ४ मेट्रिक टन पुर्याउने लक्ष्य सरकारको छ । त्यो लक्ष्य पूरा गर्न नसके पनि विगतभन्दा उत्पादन वृद्धि भएका कारण मन्त्रालयले यसलाई सकारात्मक रूपमा लिएको छ । ६० लाख मेट्रिक टन धान उत्पादन भयो भने देश धानमा आत्मनिर्भर हुने मन्त्रालयको दाबी छ ।
यो आवमा १४ हजार ५५९ हेक्टर क्षेत्रफल वृद्धि भई कुल १४ लाख ७३ हजार ४७४ हेक्टर क्षेत्रफलमा धान उत्पादन भएको जनाइएको छ ।
देशभरको खेतीयोग्य जग्गाको करिब ३८ प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा पुगेको सरकारी आँकडा छ । आकाशे पानीकै भरमा धान बाली लगाउनुपर्ने बाध्यताको अन्त्य नहुँदासम्म धानमा आत्मनिर्भर हुने सरकारको लक्ष्य पूरा हुन नसक्ने किसानहरु बताउँछन् ।
नेपाललाई वार्षिक ३९ लाख ९९ हजार ६२२ मेट्रिक टन चामल आवश्यक पर्छ । सरकारले १५ जिल्लामा धान उत्पादन बृृहत् कार्यक्रम सञ्चालन गर्दै आएको छ भने झापा जिल्लालाई धानको ‘सुपर जोन’ घोषणा गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेका अनुसार पछिल्लो समय सरकारले साना मसिना चामलको उत्पादन गर्न नार्कसँग छलफल गरिरहेको छ । उपभोक्तामा आयातीत मसिनो चामल बढि माग भएकाले सो जातिका धान उत्पादन गर्न नार्कसँग सहकार्य गरी अनुसन्धान अनुसन्धान अघि बढाउने तयारी भएको उनले बताए ।
‘अहिले उपभोक्ताहरु नेपाली चामल भन्दा आयात भएको मसिनो चामल धेरै मन पराउन थालेका छन् त्यसैले आयात बढेको हो, अब हामी पनि त्यस्तै चामल कसरी उत्पादन गर्न सकिन्छ नार्कसँग मिलेर अनुसन्धान तर्फ लागेका छौँ,’ घिमिरेले चाणक्य पोष्टसँग भने ।
धानको उत्पादन बढाउन कृषि बीमालाई समेत प्रोत्साहन गर्दै लैजाने मन्त्रालयको योजना रहेको छ । तर, यसो भएता पनि नेपालमा वर्षेनी धान तथा चामल आयात बढ्दो क्रममा रहेको छ ।