वैशाख २१ देखि मध्यभोटेकोशी जलविद्युतको आइपीओ खुल्ने

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले वैशाख २१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

 

कम्पनीले आयोजना प्रभावित सिन्धुपााल्चोकका वासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ जारी गर्न लागेको हो ।

 

निष्काशन हुने कुल आइपीओमध्ये भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविकको लिस्ती र मार्मिड. गाविस), बाह्रविसे नगरपालिका वडा नं. ५ र ६ (साविकको गाती गाविस) र बाह्रविसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाड. र मानेश्वर गाविस) का स्थानीयका लागि ३० प्रतिशत अर्थात् १८ लाख कित्ता र बाँकी ४२ लाख कित्ता (७० प्रतिशत) जिल्लाका अन्य क्षेत्रका वासिन्दाका लागि छुट्याइएको छ ।

 

स्थानीयले कम्पनीको सेयरमा आगामी जेठ ४ गतेसम्म आवेदन दिन पाउनेछन् । सो अवधिमा सबै सेयर विक्री नभएका जेठ २० गतेसम्म आवेदन दिन पाइनेछ ।

 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ४०० कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

 

कम्पनीले धितोपत्र बोर्डबाट डेढ अर्ब बराबरको १ करोड ५० लाख कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ । पहिलोचरणमा स्थानीयका लागि सेयर जारी गरिसकेपछि दोस्रो चरणमा सर्वसाधरणका लागि सेयर जारी गर्नेछ ।

 

आयोजनाले हाल सिन्धुपाल्चोकको भोटेकोशीमा १०२ मेगावाट क्षमताको आयोजना बनाइ रहेको छ । आयोजनाको कुल लागत १४ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

सानिमा बैंकले माइती नेपाललाई १० लाख आर्थिक सहयोग गर्ने Read Previous

सानिमा बैंकले माइती नेपाललाई १० लाख आर्थिक सहयोग गर्ने

खाद्यान्नमा परनिर्भरता बढ्दो, चालू वर्षमा ३९ अर्बको चामल आयात Read Next

खाद्यान्नमा परनिर्भरता बढ्दो, चालू वर्षमा ३९ अर्बको चामल आयात