औद्योगिक क्षेत्रमा ४८ प्रतिशत वैदेशिक लगानी

काठमाडौं । नेपालमा आएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५१.१ प्रतिशत सेवा क्षेत्रमा र ४८.८ प्रतिशत औद्योगिक क्षेत्रमा लगानी रहेको देखिन्छ ।

 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७५/७६’ अनुसार सेवा क्षेत्रअन्तर्गत कूल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.४ प्रतिशत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको छ । त्यसैगरी औद्योगिक क्षेत्रअन्तर्गत उत्पादन क्षेत्रमा २८.६ प्रतिशत र जलविद्युत् क्षेत्रमा २० प्रतिशत वैदेशिक लगानी छ ।

 

प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्याङ्क सङ्कलन गरी लगानीको क्षेत्रगत अवस्था एवं प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले बैंकले यस्तो सर्वेक्षण प्रतिवेदन प्रकाशन गर्दै आएको छ ।

 

आर्थिक वर्ष २०७५/७६ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कूल १५३ कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क विश्लेषणका आधारमा प्रतिवेदन तयार पारिएको बैंकले जनाएको छ ।

 

सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आव २०७५/७६ को अन्त्यसम्ममा कूल प्रत्यक्ष वैदेशिक लगानी ८.८ प्रतिशतले कमी आई १८२ अर्ब ९२ करोड रुपैयाँ कायम रहेको छ । कूल वैदेशिक लगानीमध्ये चुक्ता पूँजीको अंश ४८.२ प्रतिशत, रिजर्भ ४२.८ प्रतिशत र कर्जाको अंश ९ प्रतिशत रहेको छ । रिजर्भको अंश २७ प्रतिशतले घटेकाले कूल प्रत्यक्ष वैदेशिक लगानीमा कमी आएको हो ।

 

यसैगरी २०७६ असार मसान्तसम्ममा नेपालमा ५३ देशको प्रत्यक्ष वैदेशिक लगानी छ । त्यसमध्ये भारतबाट सबैभन्दा बढी ५६ अर्ब ५ करोड र त्यसपछि क्रमशः चीनबाट २७ अर्ब ५६ करोड, सेन्ट किष्टस एण्ड नेभिसबाट २४ अर्ब ९४ करोड, आयरल्याण्डबाट ११ अर्ब ५९ करोड र सिङ्गापुरबाट ८ अर्ब ७३ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको प्रतिवेदनमा उल्लेख छ ।

एकै व्यक्तिले कोभिशील्ड र चिनियाँ खोप लगाउनु कति जोखिमपूर्ण ? Read Previous

एकै व्यक्तिले कोभिशील्ड र चिनियाँ खोप लगाउनु कति जोखिमपूर्ण ?

वैैशाख १५ देखि खुल्लामञ्चबाट बसपार्क हटाइँदै, अब कहाँ सर्दैछ ? Read Next

वैैशाख १५ देखि खुल्लामञ्चबाट बसपार्क हटाइँदै, अब कहाँ सर्दैछ ?