वैैशाख १५ देखि खुल्लामञ्चबाट बसपार्क हटाइँदै, अब कहाँ सर्दैछ ?

काठमाडौँ । खुल्ला मञ्चमा रहेको सिटी बसपार्क वैशाख १५ गतेदेखि हटाउने निर्णय भएको छ । आज काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको अध्यक्षतामा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाका अधिकारीबीच सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।

 

खुल्ला मञ्च खाली गराइ त्यहाँका संरचना हटाउने प्रस्तावमाथि छलफल गर्दै खुल्ला मञ्चलाई मौलिक प्रयोगमा ल्याउन यस्तो निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको भनाइ छ ।

 

यहाँबाट सञ्चालन हुने सार्वजनिक सवारीलाई २ वटा विकल्प दिइएको छ । ज्ञवालीले निर्णयका बारेमा जानकारी दिँदै भने, ‘टिकट काउन्टर राखेर चलेका मध्यम दूरीका गाडी गोङ्गबु बस पार्कबाट सञ्चालन हुनेछन् । यस्तै छोटो दूरीका सवारी पिक एण्ड ड्रप प्रणालीबाट चल्नेछन् । पिक एण्ड ड्रप प्रणालीमा चल्ने गाडीहरुका सन्दर्भमा सार्वजनिक सूचना प्रकाशन गरिनेछ । यसका आधारमा निवेदक (यातायात सञ्चालक) हरुबाट प्राप्त निवेदनका आधारमा महानगर र ट्राफिक प्रहरी महाशाखाले व्यवस्थापन गर्नेछन् ।’

 

त्यहाँको बसपार्क सारेर वैशाख १५ गतेभित्र महानगरले त्यस ठाउँका सबै संरचना हटाउने छ । हामीले यस प्रयोजनका लागि धेरै पटक, सरोकारवालासँग छलफल गरेका छौँ । सहरी सुव्यवस्था विभागका प्रमुख ध्रुव काफ्ले भने, हामी सिटी बस पार्कसँग सरोकार राख्नेहरुलाई सार्वजनिक सूचना दिने तयारी गरिरहेका छौँ ।

 

साविक पुरानो बसपार्क भएको ठाउँमा काठमाडौँ टावर निर्माण हुने भएपछि निश्चित अवधिका लागि त्यस ठाउँबाट चल्ने सवारी साधनलाई यस ठाउँमा ल्याइएको थियो ।

औद्योगिक क्षेत्रमा ४८ प्रतिशत वैदेशिक लगानी Read Previous

औद्योगिक क्षेत्रमा ४८ प्रतिशत वैदेशिक लगानी

अब १ घण्टामै डिम्याट खाता खोल्न सकिने Read Next

अब १ घण्टामै डिम्याट खाता खोल्न सकिने