अटोमोबाइलमा आशा जगाउँदै नेपाली युवा, नेपालमै बनेको इलेक्ट्रीक बाइकको टेष्ट ड्राइभ शुरू

काठमाडौं । नेपालमा बनेको इलेक्ट्रीक मोटरसाइकलको टेष्ट ड्राइभ शुरू भएको छ । युवा इन्जिनीयरहरूको टिमले निर्माण गरेको मोटरसाइकलको टेष्ट ड्राइभ कार्यक्रम होटल हायातमा आयोजना भएको हो ।

 

‘यात्री’ नाम दिइएको उक्त मोटरसाइकल गत वर्ष पहिलोपटक सार्वजनिक गरिएको थियो । यो मोटरसाइकलको पहिलो ५० युनिटको लिमिटेड एडिशनको (पी जेरो) निर्माण प्रक्रिया अन्तिम चरणमा रहेको छ । केही समय पश्चात् उक्त लिमिटेड एडिशन मोटरसाइकल बुकिङ गर्ने ग्राहकलाई हस्तान्तरण गर्नेछ भने पी १ लाई रेगुलर मोडलको रूपमा उत्पादन गर्ने कम्पनीले जनाएको छ ।

 

कम्पनीले नयाँ मोडल पी १ को टेष्ट ड्राइभ मार्फत प्रतिक्रिया लिइरहेको छ । कम्पनीले आफ्नो वेबसाइट मार्फत टेष्ट ड्राइभ गर्न चाहानेहरूको फारम लिएको थियो ।

 

यात्रीको नयाँ मोटरसाइकल पी १ मा रहेको मोटरले १९ हर्सपावर तथा ९० एनएम टर्क जेनेरेट गर्छ । यसको टप स्पीड १०० किलोमिटर प्रतिघण्टा रहेको छ । यो नमूना मोडलको पावर फिगर उत्पादनमा जाँदा तलमाथि हुन सक्ने कम्पनीले जनाएको छ । यो मोटरसाइकल निर्माणको नेतृत्व युवा इन्जिनियर असिम पाण्डेले गरिरहेका छन् ।

‘आफू अथक यात्री भएकाले नै होला आफ्नो उत्पादनमा पनि आफ्नै छायाँ देखें र पहिलो पटक नेपालीले नै डिजाइन गरेको र नेपालमै जडान गरिएको पूर्ण रूपमा नेपाली ब्राण्डको रूपमा रहेको इलेल्ट्रीक मोटरसाइकलको नाम पनि ‘यात्री’ नै राखें,’ पाण्डे भन्छन् ।

 

असिमको सवारी साधनहरूसँग सानैदेखि आकर्षण बढेको रहेछ । उमेर बढ्दै जाँदा त्यो आकर्षण ‘जुनुन’मा परिर्वतन भयो । अनि अहिले पेशा र सपना पनि ।

 

‘सानै देखि मोटरसाइकल र गाडीसँग धेरै लगाव थियो । त्यसैले पछि कुनै डिजाइन हाउसमा काम गर्छु भन्ने सोच भने थियो’ असिम भन्छन्, ‘म त ६–७ कक्षामा पढ्दा नै गाडी र मोटरसाइकल दुवै चलाउँथे’, उनले सुनाए ।

 

आफ्नो जुनुन पछ्याउँदै यूरोपमा हुने एकदमै ठूलो प्रतिस्पर्धा फर्मुला वानमा प्रतिस्पर्धा गरे उनले । त्यहाँ विद्यार्थीहरूले एक वर्षसम्म लगाएर तयार गरेको आफ्नो डिजाइनलाई प्रतिस्पर्धामा उतार्ने गर्छन् । त्यसमा करिब २ वर्ष बसेर उनले आफ्नो क्षमता बढाउने अवसर पाए ।

 

उनका अनुसार डेल्थ यूनिर्भसिटी उक्त प्रतिस्पर्धामा उत्कृष्ट बन्न सफल भएको थियो । त्यसरी त्यहाँ २ वर्ष काम गरेपछि डिजाइन, प्रडक्ट र रेस सबै कुराको जानकारी भएको र धेरै कुरा सिकेको उनी बताउँछन् । त्यसपछि मास्टर्स पढ्दा नेदरल्यान्डको डंकोहुट कम्पनीमा काम गरे, जसले ‘हाइपर कार’हरू बनाउने गर्छ ।

 

अहिले असिमसँग युवा इन्जिनियरहरूको टिम छ । साथीहरू प्रतिभावान र सज्जन भएको उनको अनुभव छ । उनीहरूको टिममा नेपालमै पढेका युवाहरू पनि छन् । उनीहरू सोचेभन्दा बढि नै क्षमतावान् भएको उनको अनुभव छ ।

 

उनीहरूलाई लाग्छ उनीहरूको उत्पादन नेपाली बजारमा मात्र होइन विश्व बजारमा नै एउटा ‘बेन्चमार्क’ कायम गर्ने किसिमको छ । ‘नेपालमा सामान्यत काम चल्छ भन्ने सोचाईबाट उत्पादनहरू बनाउने र ल्याउने चलनको साटो उत्कृष्ट उत्पादन बनाउने र कुनै किसिमको सम्झौता नगरी हामी यो मोटरसाइकल उत्पादन गर्दैछौं । यसले बजारमा ४०० सीसी सेग्मेन्टका मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ’ असिम भन्छन् ।

कोरोना खोप लगाउनेले चन्द्रागिरी केबलकारमा २५ प्रतिशत छुट पाउने Read Previous

कोरोना खोप लगाउनेले चन्द्रागिरी केबलकारमा २५ प्रतिशत छुट पाउने

सिभिल बैंकको खुद नाफामा उल्लेख्य सुधार, यस्ता छन् मुख्य वित्तीय सूचक Read Next

सिभिल बैंकको खुद नाफामा उल्लेख्य सुधार, यस्ता छन् मुख्य वित्तीय सूचक