काठमाडौं । चन्द्रागिरी हिल्सले कोरोनाको खोप लगाउने व्यक्तिहरुलाई केबलकारको टिकटमा २५ प्रतिशत छुट दिने भएको छ ।
कम्पनीले एक सूचना जारी गर्दै कोरोनाको खोप लगाएकालाई टिकटमा २५ प्रतिशत छुट दिने जानकारी गराएको हो । उक्त सुविधका लागि खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।
विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोप लगाउने कार्य पनि सुरु भइसकेको अवस्थालाई ध्यानमा राखेर खोप लगाइसकेका आगन्तुकलाई केबलकार यात्रामा सो मात्राको छुटको सुविधा दिएको कम्पनीले जनाएको छ ।
हाल नेपाली नागरिकलाई चन्द्रागिरी केबलकारको दुईतर्फी टिकटको मूल्य ७०० रुपैयाँ छ । खोप लगाएकाले उक्त रकममा २५ प्रतिशत अर्थात १७५ रुपैयाँ छुट पाउनेछन् ।
कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउँदै उच्च स्वास्थ्य सुरक्षा सतर्कता अवलम्वनमा सचेतना अभिवृद्धि गर्ने कार्यमा यो योजना सहयोगी हुने कम्पनीको ठहर छ । यो योजना वैशाख ९ गतेदेखि जेठ १७ सम्म लागू हुने कम्पनीले जनाएको छ ।
ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरी डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरी डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।