काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार झिनो अंकले सुधार आएको बजारमा आज फेरि दोहोरो अंकले घटेको हो ।यससाता मंगलबार बाहेक हरेक दिन दोहोरो अंकको गिरावट आएको छ । यससाता समग्रमा बजार १०३ अंकले घटेको छ ।
सूचकसँगै कारोबार रकममा पनि लगातार गिरावट आएको छ । आइतबार साढे ८ अर्ब बढीको कारोबार भएकोमा त्यो घटेर आज पौने ६ अर्बमा सीमित भएको छ ।
आज सेयर बजार मापक सूचक नेप्से ३२.४१ अंकले घटेर २६३२.४० विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१४ कम्पनीको ५ अर्ब ७७ करोड २२ लाख ५१ हजार २०३ रुपैयाँ बराबरको १ करोड ३७ लाख ८७ हजार २१८ कित्ता सेयर किनबेच भएका छन् ।
बुधबार कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फयड बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएका छन् । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १५४.२३ अंकले घटेको छ ।
आज कारोबारमा आएका २१४ कम्पनीमध्ये जम्मा ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने १६७ कम्पनीको मूल्यमा गिरावट आएको छ । १६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । यसको २५ करोड ४५ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा हिमाल दोलखा हाइड्रोपावर २२ करोड र नागरिक लगानी कोष १८ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।
दोहोरो अंकले घटेको बजारमा पनि आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । महिला लघुवित्त, ज्योति लाइफ इन्स्योरेन्स, ग्रीन डेभलपमेन्ट बैंक र हिमाल दोलखा हाइड्रोपावरका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।घट्दो बजारमा आज लिवर्टी इनर्जी कम्पनीका सेयरधनीले सबैभन्दा धेरै ५.१७ प्रतिशत गुमाएका छन् ।