काठमाडौं । सिभिल बैंकले खुद मुनाफमा उल्लेख्य सुधार गरेको छ । बैंकले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण खुद नाफमा ३९.३९ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।
विवरण अनुसार बैंकले चालू आवको चैत मसान्तसम्म कुल ५० करोड २५ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको हो । यो गत आवको सोही अवधिको तुलनामा १४ करोड रुपैयाँ बढी हो । गत आवको तेस्रो त्रैमासमा बैंकले ३६ करोड ५ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको खुद नाफा बढे पनि खुद ब्याज आम्दानी भने ९.८७ प्रतिशतले घटेको छ । गत वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ७० करोड रुपैयाँबाट घटेर १ अर्ब ५४ अर्बमा सीमित भएको छ । यस्तै, बैंकको सञ्चालन मुनाफा २६.४२ प्रतिशतले बढेर ६८ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकले ८५ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब ३६ रुपैयाँ कर्जा प्रवाह गरेको छ। हाल ८ अर्ब ६४ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ४९ करोड रुपैयाँ सञ्चित छ। तेस्रो त्रैमाससम्म बैंकको वितरण योग्य मुनाफा ३० करोड ७७ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६.०१रुपैयाँबाट बढेर ७.७५ रुपैयाँ पुगेको छ । बैंकले खराब कर्जा २.९६ प्रतिशतबाट घटाएर १.१३ प्रतिशतमा झारेको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १२३.३८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३०.७० प्रतिशत, बेसरेट ७.८२ प्रतिशत र सीसीडी रेसियो ८०.३ प्रतिशत रहेको छ ।