काठमाडौं । कोरोना महामारीले विभिन्न क्षेत्रमा संरचनागत परिर्वतन ल्याइदिएको छ । फुटबलको जननी र महाशक्ति भनेर चिनिने युरोपको फुटबलमा पनि महामारीले संरचनागत परिर्वतन ल्याउने संकेत देखिन थालेका छन् ।
विश्वकै ठूला मध्येमा गनिने युरोपेली फुटबल क्लबहरूले नयाँ लिग ‘युरोपियन सुपर लिग’मा (ईएसएल) खेल्ने सहमति जनाएसँगै फुटबलको संरचनामा व्यापक परिर्वतन आउन लागेको संकेतहरू देखिन थालेका हुन् ।युरोपियन सुपर लिग विश्व फुटबलकै ठूलो मध्येमा गनिने च्याम्पियन्स लिगको चिर प्रतिद्धन्दी हुने देखिएको छ ।
युरोपियन सुपर लिगले इङल्याण्डको घरेलु लिग प्रिमियर लिग, स्पेनको ला लिगाहरूलाई भने प्रभाव पर्ने छैन । तर यो नयाँ लिगमा भाग लिने क्लबहरूलाई भने युरोपको फुटबल नियामक निकायले घरेलु लिगबाट निकाल्ने खतरा भने रहेको छ ।
ठूला क्लबहरूले किन नयाँ लिगमा खेल्ने सम्झौता गरेका हुन् ?
यसको मूल कारण भने पैसा नै रहेको देखिन्छ । ईएसएलले आफ्नो लिगमा खेल्दा कमाई धेरै हुने र खेलका क्रममा आम्दानीको वितरण पनि प्रभावकारी ढंगले हुने बताएको छ ।
कारोना महामारीले फुटबल क्लबहरूको आम्दानी व्यापक रुपमा घटाइदिएको छ । दर्शकहरूको अनुपस्थित र तलमाथि भइरहने खेल तालिकाका अनुसार उनीहरूको आम्दानीमा ठूलै धक्का लागेको छ । युरोपका ठूला क्लबहरूसँग विश्वकै स्टार खेलाडीहरू रहेका छन् र उनीहरूलाई क्लबले दशौं लाख डलर तलब दिनुपर्ने हुन्छ ।
‘ईएसएलको गठन महामारीले अहिलेको फुटबलको आर्थिक मोडलमा ल्याएको अस्थिरताको समयमा भएको छ,’ १२ वटा क्लबहरूले संयुक्त रुपमा जारी गरेको वक्तव्यमा भनिएको छ ।
‘वार्षिक युरोपियन टुर्नामेन्टले ठूलो आर्थिक वृद्धिको संभावना ल्याउने छ र यसले दीर्घकालीन प्रतिबद्धता पनि सुनिश्चित गर्ने छ,’ वक्तव्यमा थप भनिएको छ ।ईएसएलले शुरुवाती दिनहरूमा नै १२ अर्ब डलर भन्दा बढीको आम्दानी गर्ने पनि बताइएको छ ।
घरेलु लिगहरूको अवस्था के होला ?
इङल्याण्डको प्रिमियर लिग, स्पेनको ला लिगा र इटालीको सिरी एको विश्वभरी अत्याधिक टेलिभिजन दर्शक रहेका छन् । ईएसएलको कारणले यसमा कमी आउने संभावना पनि छ ।
युरोपको फुटबल नियामक निकाय युएफाले ईएसएलमा भाग लिने क्लबहरूलाई घरेलु देखि लिएर युरोपियन र अन्य प्रतियोगिताहरूमा भाग लिन नदिने चेतावनी हिजो आइतबार दिएको छ । त्यहाँ खेल्ने खेलाडीहरूलाई राष्ट्रिय टोलीको प्रतिनिधित्व पनि गर्न नदिने युएफाले बताएको छ । तर ठूलो आर्थिक लाभका कारण क्लबहरू पनि आफ्नो अडानमै छन् ।
ईएसएल आयोजकहरूका अनुसार १२ वटा संस्थापक क्लबहरूले कुल करिब ५ अर्ब डलर पाउँनेछन् ।क्लबहरूले अप्ठ्यारो समयमा यो टुर्नामेन्टले युरोपियन फुटबललाई बदल्न र दिगो विकास गर्न सहयोग पुर्याउने बताएका छन् । इङल्याण्ड, स्पेन र इटालीका क्लबहरूले ईएसएलमा भाग लिनको लागि सम्झौता गरे पनि जर्मनी र फ्रान्सका ठूला क्लबहरूले पनि अझै सम्झौता गरेका छैनन् ।
कसरी सञ्चालन हुन्छ ईएसएल ?
ईएसएलमा २० वटा क्लबहरूले प्रतिस्पर्धा गर्नेछन् । १५ वटा क्लबहरू संस्थापक हुनेछन् भने ५ वटा क्लबहरू प्रत्येक सिजन छानिनेछन् । क्लबहरूले ईएसएलमा मध्ये हप्तामा प्रतिस्पर्धा गर्नेछन् भने आफ्नो घरेलु लिगमा पनि साविक झै खेल्नेछन् ।
प्रस्तावका अनुसार २० वटा क्लबहरूलाई १०–१० वटा गरि दुई समूहमा बाँडिनेछ र ‘होम’ र ‘अवे’ गरि खेलहरू एकआपसमा खेलाइन्छ । प्रत्येक समूहबाट टप ३ क्लबहरू क्वाटरफाइनलको लागि छानिनेछन् । चौथो र पाँचौ स्थानमा रहेकाहरू बाँकी स्थानको लागि प्ले अफ खेल्नेछन् । त्यसपछिका खेलहरू नकआउटका आधारमा खेलाइनेछन् । फाइनल भने तटस्थ स्थानमा खेलाइनेछ । संभव भएसम्म छिटो यो प्रतियोगिता शुरु गरिने बताइएको छ ।