एनआरएनहरु नेपालको लागि ‘लगानी दूत’ बन्नुहोस् : अर्थमन्त्री पौडेल

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले गैर आवसिय नेपालीहरुलाई (एनआरएन) लगानीको दूत बन्न आग्रह गरेका छन् । एनआरएनको पहलमा स्थापना भएको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड नामको कोषको औपचारिक शुरुवात गर्न अर्थ मन्त्रालयमा आयोजित  कार्यक्रममा मन्त्री पौडेलले उक्त कुरा बताएका हुन् ।

 

एनआरएनको पहलमा नेपालको विभिन्न क्षेत्रमा लगानीको लागि १० अर्ब रुपैयाँको कोषको औपचारिक शुरुवात भएको छ । उक्त कोषमा नेपाल सरकारको पनि ५ प्रतिशत हिस्सेदारी रहने छ । आज (सोमबार) अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा कोषको औपचारिक शुरुवात भएको जानकारी दिइएको हो ।

 

एनआरएन नेपाल डेभलपमेन्ट फण्ड नामको उक्त कोषले नेपालको विभिन्न क्षेत्रमा लगानीको अवसर खोज्ने, विश्वभर छरिएको नेपालीहरुको पूँजी एकत्रित गर्ने र मूलरुपमा नेपालको विकास र समृद्धिको लागि लगानी गर्ने कोषका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले बताए ।

 

सन् २००७ मा नेपालमा आयोजित अन्तराष्ट्रिय सम्मेलनमा उक्त कोषको बारेमा औपचारिक घोषणा भएको थियो । त्यसको करिब १३ वर्ष पछि नेपाल सरकारको समेत सहभागीतामा उक्त कोषको औपचारिक शुरुवात भएको हो ।

 

एनआरएनका अध्यक्ष कुमार पन्तले आगामी दिनमा कोषको आकार वृद्धि गर्दै ५० अर्ब देखि १ खर्ब सम्म पुर्याउने योजना रहेको बताए । यसैगरी कोषका अध्यक्ष उपेन्द्र महतोले कोषको माध्यमबाट पैसा मात्र नभएर ज्ञान, सीप, प्रविधि, कर्पोरेट संस्कृति, सुशासन र पारदर्शिता पनि आउने दाबी गरे ।

 

कार्यक्रममा अर्थ सचिव शिशिर ढुङ्गानाले कोषले मूल रुपमा ‘होल्डिङ कम्पनी’को रुपमा काम गर्नुपर्ने र परम्परागत भन्दा पनि कोरोना कहरले निम्त्याएको चुनौतीको बेलामा नयाँ नयाँ लगानीको क्षेत्रहरु खोजेर लगानी गर्नुपर्नेमा जोड दिए ।

 

कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले एनआरएनलाई विश्वास जित्ने गरि काम गर्न आग्रह गरे । उनले नेपाल हमेशा विदेशबाट लगानी भित्राउन तयार रहको तर उक्त रकम कालो धन हुन नहुने र बैंकिङ च्यानलबाट मात्रै आउनुपर्ने बताए ।

 

उनले नेपालमा राजनीतिक अस्थिरता नरहेको र हिंसाको संभावना पनि समाप्त भएका कारण ढुक्क भएर लागनी गर्न एनआरएनलाई आग्रह गरे ।

 

कोषको ८५ प्रतिशत रकम विश्वभरका एनआरएनहरुबाट कम्तीमा १० डलरको हिसाबले उठाइने बताइएको छ । नेपालमा यस कम्पनीको आइपिओ जारी गरिने जानकारी पनि कार्यक्रममा दिइएको थियो ।

आम्दानी घटेपछि क्लब फुटबलको संरचनामा व्यापक परिवर्तन गर्दै युरोपेली क्लब, अब यसरी कमाउँदै  छन् अर्बौ Read Previous

आम्दानी घटेपछि क्लब फुटबलको संरचनामा व्यापक परिवर्तन गर्दै युरोपेली क्लब, अब यसरी कमाउँदै छन् अर्बौ

सिटिजन्स बैंकको नाफामा छलाङ, यस्ता छन् वित्तीय सूचक Read Next

सिटिजन्स बैंकको नाफामा छलाङ, यस्ता छन् वित्तीय सूचक