काठमाडौं । भोल्भोको स्वामित्वमा रहेको स्वीडीस इलेक्ट्रिक कार ब्राण्ड पोलिस्टारले विश्वकै पहिलो कार्बन–न्युट्रल कार (शून्य कार्बन उत्सर्जन गर्ने) सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीले सन् २०३० सम्म उक्त कार सार्वजनिक गर्ने जनाएको छ ।
यो कार्बन–न्युट्रल कार ‘शून्य उत्सर्जन’को अवधारणा भन्दा पनि धेरै उन्नत रहने छ । यसले कम्पनीलाई कार्बन–न्युट्रलको भिजनको पायोनियर बनाउन सक्ने छ । अटोमोबाइल क्षेत्र र त्यसैका आधारमा बन्ने यातायात क्षेत्रले पृथ्वीको तापक्रम बढाउन र जलवायु परिर्वतन गराउन ठूलो भूमिका खेलिरहेका छन्, जीवाष्म इन्धन (फोसिल्स फ्युल) जलाएर ऊर्जा निकाल्नमा अटो क्षेत्र निर्भर रहेका कारण ।
पृथ्वीको बढ्दै गरेको तापक्रम र जलवायु परिर्वतनले पृथ्वी र यहाँ बसोबास गर्ने सबैको स्वास्थ्यमा प्रतिकूल असर पारिरहको छ । बढ्दो समुद्री सतह र छिटो छिटो परिर्वतन हुने मौसमले अहिलेको र भविष्यको पुस्तालाई धेरै प्रभाव पारिरहेको छ ।
अमेरिकामा हुने कूल उत्सर्जन मध्ये त्यसको २० प्रतिशत कार र ट्रकहरूबाट हुने गरेको छ । संयुक्त अधिराज्यको ठूला कारहरू निर्माण गर्ने ट्रेण्डले सन् २०१० देखि २०१८ सम्म अत्याधिक कार्बन डाइअक्साइड उत्सर्जन गरेको छ । यी ठूला कारहरूले अन्य साना कारहरूको भन्दा ८५ प्रतिशत बढि हरित ग्यासहरू उत्सर्जन गरेको पाइएको छ ।
सन् २०१५ मा गरिएको पेरिस सम्झौताले सन् २०५० सम्म युरोपियन युनियनलाई कार्बन–न्युट्रल बनाउने प्रष्ट योजना अघि सारेको छ । सन् २०१९ मा डोनाल्ड ट्रम्प राष्ट्रपति भएको समयमा अमेरिका यो सम्झौताबाट बाहिरिएको थियो भने सन् २०२१ मा जो बाइडेन राष्ट्रपति भएपछि अमेरिका फेरि यो सम्झौतामा प्रवेश गरेको छ ।
संयुक्त अधिराज्य सरकारले सन् २०३० सम्म कार्बनडाइअक्साइड उत्सर्जन ६८ प्रतिशतले घटाउने भिजन अघि सारेको छ । उसले आफ्ना कूल ३ करोड ५० लाख कारहरू मध्ये ४६ प्रतिशत कार ‘रिप्लेस’ गराउन सक्ने छ । अटोमोबाइल क्षेत्रले सन् २०५० भन्दा अघि नै यी लक्ष्यहरू भेट्टाउनको लागि धेरै अग्रसरताहरू लिइसकेका छन् ।
जनरल मोटर्सले सन् २०४० सम्म कार्बन–न्युट्रल हुनका लागि धेरै अग्रसरताहरू लिइसकेको छ । उसले सन् २०३५ सम्ममा ग्यासबाट चल्ने गाडीहरू निर्माण पूर्णरुपमा बन्द गर्नेछ । अमेरिकाले उत्सर्जन घटाउने आफ्नो प्रतिवद्धतामा खरो उत्रनको लागि सन् २०५० सम्म आफ्ना ९० प्रतिशत कारहरू शून्य–उत्सर्जन बनाउनु पर्ने छ । यो काम गाह्रो रहेको तर असम्भव भने नरहेको जानकारहरूको भनाइ छ । यसका लागि अमेरिकाले सन् २०३५ भित्रमा बिजुली गाडीहरूलाई मात्र विक्रीको अनुमति दिन सक्नेछ ।
तर बिजुली गाडीहरू मात्र बेच्ने नियम बनाएर वा पालना गरेर मात्र विश्व कार्बन–न्युट्रल हुन्छ त ? भोल्भोको स्वामित्व रहको स्वीडीस ब्राण्ड पोलिस्टार भने बिजुली गाडी मात्र बेच्ने भन्दा केही अगाडि जाने योजनामा रहेको छ ।
उसले समग्र उत्पादन प्रक्रिया देखि लिएर सबै आपूर्तिकर्ताहरू समेतलाई कार्बन–न्युट्रलको अवधारणामा काम गराउने भएको छ । पोलिस्टारकी फेड्रिका क्लारेन भन्छिन्, ‘हामी बिजुली गाडी बनाउछौं । त्यसकारण हामीले गाडीको उत्सर्जनका बारेमा सोच्नै परेन । तर यतिले मात्र हाम्रो काम सकिँदैन । हामीले उत्पादनको समग्र प्रक्रियाबाट पनि उत्सर्जनलाई निर्मुल पार्नु छ । अन्य धेरै कम्पनीहरूले कार्बन–न्युट्रल बन्नको लागि आफ्नो उत्पादन प्रक्रियाबाट निक्लेको कार्बनलाई ‘अफसेट’ गर्नको लागि रुख रोप्ने गरेका छन् । तर जंगलमा आगो लागेको खण्डमा त झन् धेरै कार्बन उत्सर्जन हुन्छ ।’
पोलिस्टारले रुख रोप्ने छैन । उसले डिजाइन र उत्पादन प्रक्रियाबाटै कार्बन उत्सर्जनलाई निर्मूल पार्ने प्रयास गरेको छ । पोलिस्टारको बुझाइमा यो सबैभन्दा दिगो रणनीति हो । पोलिस्टार अटो क्षेत्रको लागि उदाहरण बन्न चाहन्छ ।
पोलिस्टार अटो क्षेत्रलाई आफ्नो उत्पादन प्रक्रिया र कार्बन उत्सर्जनका बारेमा पारदर्शी हुन आग्रह पनि गरेको छ । यसले पक्कै पनि डिजाइन र उत्पादन प्रक्रियालाई उन्नत बनाउन र विश्वलाई कार्बन–न्युट्रलको दिशामा अघि बढ्न सहयोग पुर्याउने छ ।