काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ)ले आगामी १० वर्षमा मुलुकको अर्थतन्त्रको आकार ३ गुणा बढाउन सकिने बताएको छ ।
५५ औं वार्षिक साधारण सभाको अवसरमा महासंघले समुन्नत नेपाल निर्माणका लागि एक दशकको भिजन पेपर ‘राष्ट्रिय आर्थिक रूपान्तरण २०३०’ तयार गर्दै यस्तो परिकल्पना गरेको हो ।
हाल करिब ३७ खर्ब रहेको अर्थतन्त्रको आकार १ दशकमा १०० खर्ब बढी पुर्याउन सकिने महासंघले परिकल्पना गरेको छ ।
महासंघका अध्यक्ष शेखर गोल्छाले भिजन पेपर सार्वजनिक गर्दै १ दशकको अवधिमा १ खर्ब ५० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्न सकिने बताए । १० वर्षे भिजन पेपर इमानदारीपूर्वक कार्यान्वयन गर्न सकिए सन् २०३० सम्म निजी क्षेत्रबाट मात्रै १ खर्ब ८ अर्ब डलर लगानी हुने उनको भनाइ छ ।
महासंघको १० वर्षे भिजन अनुसार मुलुकको अर्थतन्त्र दोहोरो अंकमा वृद्धि गर्ने, आगामी १० वर्षभित्र मुलुकको अर्थतन्त्र १ सय अर्ब डलरको पुर्याउने र दिगो उच्च आर्थिक वृद्धिमार्फत् अतिरिक्त २२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ ।
गोल्छाले आगामी १ दशकको अवधिमा ४० हजार मेगावाट बिजुली निकाल्न सकिने बताए । ‘अहिले भारत र बंगलादेश बिजुली किन्न तयार छन । बंगलादेशले ५०० मेगावाटको सम्झौता नै गरीसक्यो । १० हजार मेगावाट तत्काल बंगलादेशले किन्न सक्ने सम्भावना छ । नेपालकै औद्योगिक क्षेत्रमा बिजुलीको माग छ । मैले माथि भनेजस्तै उद्योगलाई अवरोध हैन सहज र सस्तो बनाउनुपर्छ,’ उनले भने ।