यसवर्ष रासायनिक मलको अभाव नहुने, बंगलादेशबाट ३० हजार टन आइपुग्यो
चाणक्य पोष्ट
प्रकाशित : 8:26 am, मंगलबार, चैत २४, २०७७
"१९ हजार ५०० मेट्रिकटन २ हप्तामा आइपुग्ने"

काठमाडौं । हरेक वर्ष खेती लगाउने सिजनमा रासायनिक मल अभाव झेलेर आजित भएका कृषकहरुलाई यस वर्ष भने राहत मिल्ने भएको छ ।

 

सरकारले बंगलादेशबाट सरकार–सरकारबीच जीटुजी) प्रक्रियाबाट खरिद गरेर ५० हजार मेट्रिकटन मल वैशाख पहिलोसाता आइपुग्ने भएपछि यस वर्ष चैतेधान, वर्षेधान लगायतका लागि मल अभाव नहुने भएको हो ।

 

सरकारले बंगलादेशसँग खरिद गरेको ५० हजार मेट्रिकटन युरिया मलमध्ये हालसम्म ३० हजार ५०० मेट्रिकटन आयात भइसकेको छ भने बाँकी १९ हजार ५०० मेट्रिकटन आगामी दुई साताभित्र आइपुग्ने कृषि सामग्री कम्पनीका प्रवक्ता विष्णु पोखरेलले जानकारी दिए ।

 

उनका अनुसार सामग्री कम्पनीले पहिलो चरण अन्तर्गत २२ हजार ५०० मेट्रिकटन मल ल्याएको थियो भने दोस्रो चरणमा १० हजार मेट्रिकटन मल ल्याएको हो । आयात भएको मलमध्ये हाल कम्पनीले दैनिक ६०० देखि ७०० मेट्रिकटनका हाराहारीमा मल वितरण गरिरहेको छ ।
हाल कृषि सामग्री कम्पनीसँग १७ हजार मेट्रिकटन स्टक रहेको छ । पोटास मल ६ हजार र डीएपी मल ४५ हजार मेट्रिकटन स्टक रहेको प्रवक्ता पोखरेलले बताए ।

 

‘यो वर्ष कुनै हालतमा मल अभाव हुँदैन, अहिले १७ हजार मेट्रिकटन यूरीया मल स्टक रहेको छ, दैनिक ७०० टन मल वितरण भइरहेको छ,’ पोखरेलले चाणक्य पोष्टसँग भने ।

 

उनले बंगलादेश बाहेक अन्य ग्लोबल टेन्डरबाट समेत मल आयातका क्रममा रहेकाले झण्डै २७ हजार मेट्रिकटन यूरीया मल आयातका क्रममा रहेको बताए । बंगलादेशबाट थप १७ हजार ५०० मेट्रिकटन मल आयात हुने क्रममा रहेको छ ।

 

गत वर्ष धान रोप्ने समय जेठ–असारमा युरिया मलको हाहाकार भएपछि तत्कालीन कृषिमन्त्री घनश्याम भुसालले छोटो प्रक्रियामा मल आयात गर्न बंगलादेश उत्तम विकल्प भएको निष्कर्ष निकालेका थिए ।

 

प्रधानमन्त्री ओलीले भदौ १६ मा बंगलादेशकी समकक्षी सेख हसिनासँग टेलिफोन संवादमा तत्काल सापटी मल ल्याउन आग्रह गरेका थिए ।
बंगलादेशकी प्रधानमन्त्री हसिनाले सो समयमा उक्त प्रस्ताव स्वीकार गरे पनि पछि सापटी नदिने निर्णय गरेको थियो । त्यसपछि सरकारले सीधै बंगलादेशबाट यूरिया मल किनेर ल्याउन ठेक्का लगाएको हो ।

 

नेपालमै मल कारखाना खोलिँदै

 

सरकारले नेपालमै रासायनिक मल उद्योग खोल्ने भएको छ । सोका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको उक्त प्रस्ताव चैत्र १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ ।वर्षेनी रासायनिक मलको अभावमा नेपाली किसानहरुले भोग्दै आउनु परेको छ । सो समस्याको दीर्घकालीन समाधानका निम्ति सरकारले मल कारखाना स्थापना गर्न लागेको बताइएको छ ।

 

मन्त्रिपरिषद् बैठकले नेपालमा रासायनिक मल कारखाना स्थापना र सञ्चालनसम्बन्धी अध्ययन प्रतिवेदन, २०७७ स्वीकृत गर्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई रासायनिक मल कारखाना स्थापना गर्नका निम्ति प्रक्रिया अगाडि बढाउन स्वीकृती प्रदान गरेको हो ।

 

सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडालिटिमा नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने कार्यलाई व्यवस्थित बनाउन मन्त्रालयले आवश्यक पर्ने कार्यविधि तयार गरी लागू गर्न तथा रासायनीक मल कारखानाको पूर्वाधार निर्माण कार्य गर्न लगानी बोर्डको कार्यालयलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।