नयाँ नियम अनुसार ट्रायल दिँदा केमा फेल भए कति नम्बर काटिन्छ ? यस्तो छ अंकभार

काठमाडौं । दुईपाङ्ग्रे सवारी साधन चालक अनुमति पत्रको नयाँ प्रयोगात्मक परीक्षा प्रणाली जेठ १ गतेबाट लागू हुँदैछ । साना गल्तीहरु गर्दा समेत फेल हुने अवस्थाको अन्त्य गर्न यातायात व्यवस्था विभागले जेठ १ गतेदेखि नयाँ व्यवस्था लागू गर्ने भएको हो ।

 

विभागले तयार पारेको नयाँ कार्यविधि अनुसार सवारीसाधनको ट्रायल परीक्षालाई १०० पूर्णाङ्कमा निर्धारण गरेर कम्तीमा ७० अंक ल्याएमा लाइसेन्स पाउने उल्लेख गरिएको छ ।

 

‘अहिले फेल हुने संख्या अत्यन्त धेरै रहेको र सामान्य गल्तिमा पनि फेल हुने अवस्था रहेकाले लिखित र प्रयोगात्मक दुवै परीक्षा प्रणालीमा परिमार्जन गरिएको हो । यसले पास हुनेको संख्या बढ्ने र बीचमा चलखेल गर्नेहरुको पनि बाटो बन्द हुने अवस्था आउने देखेर नयाँ कार्यविधि ल्याएका हौं’, यातायात व्यवस्था कार्यालयका प्रवक्ता डा. लोकनाथ भुसालले भने ।

 

यसरी विभागले नयाँ कार्यविधि लागू गरेसँगै अब चालकले ७ स्थानमा विशेष ध्यान दिँदा सहजै चालक अनुमतिपत्र पाउने अवस्था आउन सक्नेछ ।

 

१. आठ

 

ट्रायल परीक्षा दिँदा शुरुमा आठ आकारमा मोटरसाइकल तथा स्कुटर घुमाउनु पर्ने हुन्छ । यसमा परीक्षार्थीले दुई वटासम्म गल्ती गर्दापनि पास हुने अवस्था रहेको छ । पहिलो पटक चालकले आठ आकारमा लगाइएको पहेँले धर्का कोरिएको लाइन छोएमा पनि फेल हुने छैन । तर, यस बापत ५ अंक भने घट्ने छ । यसरी पहेले धर्का छुँदैमा आत्तिनु पर्दैन । यो धर्कालाई क्रस गरेर टायर बाहिर जान नदिइ गुडाई रहनु पर्छ ।

 

त्यसैगरी आठको घेरा भित्र एक पटक खुट्टा टेक्दा पनि पहिले जस्तो फेल घोषणा हुँदैन । तर, यसमा पनि ५ अंक भने घट्ने छ । आठको अंकभार २० रहेको हुन्छ । यसमा अनिर्वाय १० अंक भने ल्याउनु पर्छ । त्यसैले आठमा चलाउँदा निकै संयम भएर चलाउनु पर्छ ।

 

२. साघुँरो फलेक

 

यहाँ परीक्षार्थीलाई गल्ती गर्ने छुट हुने छैन । यहाँ कुनै पनि गल्ती भएको खण्डमा सीधै फेल ठहर हुनेछ । यसमा खुट्टाले भुइँ छोएमा वा फलेक बाहिर सवारीसाधन गएमा ट्राफिक प्रहरीले सिठ्ठी फुक्ने छन् । यसका लागि परीक्षार्थीले आठबाट बाहिर निस्किएपछि सीधा अगाडि रहेको साघुँरो बाटोमा विशेष ध्यान दिएर अगाडि बढ्नु पर्छ ।

 

३. टर्न इन्डिकेटर

 

यो साँधुरो फलेक पार गर्ने बित्तिकै अगाडि यू टर्न रहेको हुन्छ । यू टर्नमा इन्डिकेटर बाल्न बिर्सेको खण्डमा भने १० अंक घट्ने छ । यसको कुल अंकभार १० पनि १० नै रहेको छ । तपाईंले अगाडि राम्रोसँग पार गरेर आउनु भएको छ भने टर्न इन्डिकेटर वाल्न विर्षेको भरमा नै तपाई फेल हुनु पर्दैन ।

 

४. ट्राफिक लाइट

 

यू टर्न सकिएपछि अगाडि ट्राफिक लाइट रहेको हुन्छ । त्यहाँ जेब्रा क्रस समेत रहेको हुन्छ । ट्राफिक बत्तीको इसारा बुझेर अगाडि बढ्नु पर्ने हुन्छ । रेडलाइट बलेको छ भने रोक्नु पर्ने हुन्छ । रातो बत्ती बलेको अवस्थामा अगाडिको रेखा टच नगरी रोकेर बस्नु पर्ने हुन्छ । यहाँ ट्राफिक संकेतको पालना नगरेमा १५ अंक माइनस हुनेछ भने यसको अंकभार पनि १५ नै रहेको छ । अगाडि कुनै गल्ती विना तपाईं आउनु भएको छ भने यहाँको गल्तीका कारण फेल हुनु पर्दैन ।

 

५. स्पीड ब्रेकर/उबडखाबड

 

यो स्थानमा १५ अंकको परीक्षा हुन्छ । यसमा परीक्षार्थीले दुई पटकसम्म गल्ती गरेमा फेल हुँदैन । यहाँ एक पटकसम्म खुट्टा भुइमा टेक्ने र एक पटक स्टार्ट बन्द भएमा ५/५ अंक माइनस हुनेछ । एक पटकभन्दा धेरै गल्ती भएमा मात्र फेल घोषणा हुनेछ ।

 

६. उकालो/ओरालो

 

यसको अंकभार २० रहेको छ । यसमा कुनै गल्ती भएमा सीधै फेल घोषणा हुनेछ । उकालो तथा ओरालोमा तोकिएको रेखा कटेर बीचमा रोकिनु पर्नेछ । यहाँ देब्रे खुट्टामात्र टेक्न पाइने हुन्छ । रोकिएको सवारीसाधन उठाउँदा ६ इन्चभन्दा बढी पछाडि सरेमा फेल हुनेछ । यसलाई राम्रोसँग ध्यान दिनु पर्छ ।

 

७. अन्य

 

सवारीसाधन स्टार्ट गर्नुअघि टायरमा हावा छ वा छैन भनेर हेर्नु पर्छ, लुकिङ ग्लास, ब्रेकको निरीक्षण गर्नु पर्ने हुन्छ । यसो नगरेमा ३ अंक काटिने छ । त्यसैगरी अस्वभाविक गतिमा वा असंयमित भएर सवारी चलाएमा पनि अर्को ३ अंक काटिने छ । समग्रमा ७० अंक ल्याएमा सवारी चालक अनुमति प्राप्त गर्न सकिने छ ।

अब काठमाडौं उपत्यका प्रवेश गर्न एन्टीजेन परीक्षण अनिवार्य Read Previous

अब काठमाडौं उपत्यका प्रवेश गर्न एन्टीजेन परीक्षण अनिवार्य

चिनियाँ कम्पनीलाई ५० वटा चार्जिङ स्टेशन निर्माणको जिम्मा, एक वर्षभित्र पुरा हुने Read Next

चिनियाँ कम्पनीलाई ५० वटा चार्जिङ स्टेशन निर्माणको जिम्मा, एक वर्षभित्र पुरा हुने