मदिराजन्य पदार्थको आयात घट्दा राजस्व भने बढ्दै, यस्तो छ कारण

काठमाडौं । पछिल्लो समय मदिराजन्य पदार्थको आयात घट्दै गइरहेको छ । सरकारले मदिराजन्य वस्तुमा कर बढाएसँगै आयात घटे पनि आन्तरिक उत्पादन र बढेको करका कारण राजस्व संकलन भने उच्च हुन गएको हो ।

 

आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा मदिराजन्य पदार्थबाट १५ अर्ब १३ करोड ३७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

 

आर्थिक वर्ष २०७६/७७ को सोही अवधिसम्म १४ अर्ब ७२ करोड ४९ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । त्यस अघिको आर्थिक वर्ष २०७५/७६ को फागुन मसान्तसम्ममा १४ अर्ब ६१ करोड ५४ लाख रुपैयाँ राजस्व संकलन भएको राजस्व विभागका प्रवक्ता अर्जुन ढकालले जानकारी दिए ।

 

आर्थिक वर्ष २०७६/७७ मा कुल २० अर्ब ५ करोड रुपैयाँ बराबरको राजस्व मादिराजन्य पदार्थबाट संकलन भएको थियो । आर्थिक वर्ष २०७५÷७६ मा कुल २५ अर्ब २१ करोड रुपैयाँ राजस्व संकलन भएको थियो भने आर्थिक वर्ष २०७४/७५ मा कुल २२ अर्ब ९७ करोड रुपैयाँ बराबरको राजस्व संकलन भएको विभागले जनाएको छ ।

 

मदिराजन्य पदार्थको आयात घट्यो, यस्तो छ भन्सार राजश्वको अवस्था

 

चालु आर्थिक वर्षको फागुन महिनासम्ममा कुल १ अर्ब ४० करोड ९७ लाख रुपैयाँ बराबरको मदिराजन्य पदार्थ आयात भएको छ । सो आयातका क्रममा १ अर्ब ९६ करोड ५६ लाख रुपैयाँ भन्सार राजस्व संकलन भएको छ ।

 

गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब २६ करोड ७० लाख रुपैयाँ बराबरको मदिराजन्य पदार्थ आयात भएको थियो । उक्त आयातका क्रममा ३ अर्ब ३२ करोड १४ लाख रुपैयाँ भन्सार राजस्व संकलन भएको थियो ।

 

करको अवस्था

 

सरकारले १२ प्रतिशत अल्कोहल भएका वाइनहरुको पैठारीमा प्रतिलिटर ३७० रुपैयाँ अन्तः शुल्क लाग्ने व्यवस्था गरेको छ ।

 

१७ प्रतिशतभन्दा बढी अल्कोहल भएका वाइनको पैठारीमा ४३० रुपैयाँ कर वृद्धि भएको छ । अल्कोहल रहित वियरको मूल्यमा प्रतिलिटर १७ रुपैयाँ अन्तःशुल्क करको भार थपिएको छ । इनर्जी ड्रिक्समा प्रतिलिटर ३० रुपैयाँ, जौबाट बनेको वियरमा प्रतिलिटर १६५ रुपैयाँ कर थपिएको छ ।

 

स्वदेशमा उत्पादित फलफूल र तीनको सारबाट बनेका १२ प्रतिशतसम्म अल्कोहल भएका स्वदेशी वाइनमा प्रतिलिटर १३५ रुपैयाँ कर थपिएको छ । छ्याङ (कन्ट्री वियर) को प्रतिलिटरमा ३५ रुपैयाँ मूल्य बढाइएको छ ।

 

चालु आर्थिक वर्षको ८ महिना (साउन–फागुन) मा वियरबाट १२ अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । गत आव २०७६/७७ को सोही अवधिमा १२ अर्ब ७२ करोड रुपैयाँ बराबरको वियर आयात भएको थियो । आर्थिक वर्ष २०७५/७६ को ८ महिनामा १२ अर्ब ८२ करोड रुपैयाँ वियरबाट राजस्व संकलन भएको थियो ।

 

गत आर्थिक वर्षमा वियरबाट कुल राजस्व १४ अर्ब ८१ करोड रुपैयाँ संकलन भएको थियो । आर्थिक वर्ष २०७५/७६ मा वियरबाट कुल राजस्व २० अर्ब ८८ करोड रुपैयाँ संकलन भएको थियो ।

डिशहोमको नयाँ ‘खुशीको उडान’ योजना अन्र्तगत ग्राहकहरुलाई बैंकक घुम्ने मौका Read Previous

डिशहोमको नयाँ ‘खुशीको उडान’ योजना अन्र्तगत ग्राहकहरुलाई बैंकक घुम्ने मौका

बजार उच्चतम विन्दु चुम्ने यात्रामा, बुल रनको शुरुवात कि करेक्सन आउनु अघिको अल्पकालिन बढाइ ? Read Next

बजार उच्चतम विन्दु चुम्ने यात्रामा, बुल रनको शुरुवात कि करेक्सन आउनु अघिको अल्पकालिन बढाइ ?