काठमाडौं। २६ सय ४० को उच्चतम विन्दु चुमेर फर्केको बजार केही हप्ता सुस्ताएपछि फेरी त्यो उच्चतम विन्दु पनि पार गर्ने गरि अगाडी बढेको छ । आज साताको कारोवारको अन्तिम दिन बिहिबार बजार १२.८८ अंकले बढेर २६३१.९० मा बन्द भएको छ ।
यो बढोत्तरीलाई कारोवार रकमले पनि साथ दिएको छ । बिहिबार कुल कारोवार रकम ७ अर्ब २५ करोड रुपैयाँको भएको छ भने करिब ८ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
उच्चतम विन्दु चुमेर फर्केको बजार केही हप्ता सुस्ताएको थियो । उक्त समयमा जलविद्युत कम्पनीका सेयरहरु मात्र सकारात्मक ढंगले अघि बढेका थिए । तर अहिले भने बजारको नेतृत्व निर्जीवन बीमा कम्पनीहरु र माइक्रोफाइनान्सहरुले पनि गर्न थालेका छन् ।
यो सँगै बजारमा अहिले केही समयको करेक्सन सकिएर बजार उकालो यात्रामा लागेको हो वा अलि लामो बियरिस ट्रेण्डमा जानु अघि छोटो समयको लागि ह्वात्त बढेको हो भनेर चर्चा हुन थालेको छ ।
‘बजारले २६ सय अंक पार गरेपछि धेरै लगानीकर्ताले आफ्नो सेयर बेचेका थिए । उनीहरुले अब बजारमा ठूलो करेक्सन आउने अपेक्षा गरेका थिए । तर बजारले त्यस्तो ट्रेण्ड देखाएन । उनीहरु बजार अलि धेरै घटाएर मात्र बजारमा पस्ने योजनामा थिए । अपेक्षाकृत रुपमा बजार नघटेपछि अब उनीहरु पनि बजारमा पस्न थालेका छन् । त्यसैले अब नेपाली सेयर बजारमा अर्को बुलिस ट्रेण्ड शुरु भएको छ,’ सेयर बजारका नियमित लगानीकर्ता सन्तोष लम्सालले चाणक्य पोष्टसँग भने ।
तर सेयर बजारका चर्चित विश्लेषक विष्णु बस्यालको भने फरक मत छ । ‘बजारमा करेक्सन आउनु नै छ । अहिलेको अवस्थामा बजार करिब २७ सय सम्म जान सक्ने देखिन्छ । तर २२ सय हाराहारी नआइकन बजारले उकालो यात्रा गर्दैन ।’
अब नेप्सेमा सूचिकृत कम्पनीहरु मध्ये ९७ वटा कम्पनीहरुको सेयर मूल्य बढेको छ भने ६७ वटा कम्पनीको सेयर मूल्य भने घटेको छ । यसैगरी १६ वटा कम्पनीहरुको सेयर मूल्यमा कुनै परिर्वतन भएको छैन ।
करिब ८ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको बजारमा सान्जेन, युनाइटेड फाइनान्स, किशान लघुवित्त, वोमी लघुवित्त, एनआइसी लघुवित्त अजोड इन्स्योरेन्स र श्री फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढि कमाएका छन् ।
उप–सूचकहरुको कुरा गर्दा होटल, म्युचुअल फण्ड, इन्भेष्टमेन्ट र जीवन बीमा उप–सूचकहरु मात्र घटेका छन् भने अन्य सबै बढेका छन् ।