काठमाडौं । दुई युवा विद्यार्थी माइक्रो विगर्ट र लरेन्ज हम्पलले आफैं कोला कम्पनी स्थापना गर्ने योजना बनाए । तर उनीहरूलाई त्यस्तो पेय पदार्थ कसरी बनाउने भन्ने कुनै ज्ञान थिएन । आत्मविश्वास उच्च भएका कारण उनीहरूले त्यसै हार भने मानेनन् । केही अध्ययन र अनुसन्धान गर्ने निर्णय गरे ।
‘हामीले गुगलमा कोला पेय पदार्थको रेसीपी खोज्यौं । तर त्यहाँबाट खासै केही हात लागेन,’ सन् २००३ मा २८ वर्षको उमेरमा रहेका माइक्रो भन्छन् ।
इन्टरनेटबाट खासै केही सहयोग नपाएपछि उनीहरूले अर्को उपाय लगाए । उनीहरूले देशभरीका ब्रुअरीहरूमा सम्पर्क गरे र आफ्ना लागि कोलाको रेसीपी बनाइदिन र बोटलिङ गरिदिन आग्रह गरे ।
अन्य पेय पदार्थहरूदेखि लिएर बियर बनाउन व्यस्त त्यस्ता ब्रुअरीहरूले यी दुई युवाहरूको चाहना सम्बोधन गरिदिने कुरै थिए । सयौं त्यस्ता ब्रुअरीहरूले उनीहरूको आग्रह इन्कार गरिदिए । तर अन्ततः एउटा ब्रुअरीले केही सहयोग गरिदिने आश्वासन दियो । ‘अन्ततः हामीले पश्चिमी जर्मनीको एउटा सानो ब्रुअरी फेला पार्यौं,’ माइक्रो भन्छन्, ‘ब्रु मास्टरले केटा हो आउ म केही सहयोग गरौंला भने ।’
त्यो वर्ष उनीहरूसँग बेच्नका लागि ४ हजार ८० वटा कोला ड्रिङकको बोतल उपलब्ध थियो । उनीहरूले ती बोतल बेच्नको लागि साना बार, सुपरमार्केट र खुद्रा पसलहरूलाई टार्गेट गरे । उनीहरू आफैं भ्यान चलाएर पसलहरूमा धाउन थाले ।

अहिले फ्रिट्ज कोला नामको यो पेय पदार्थ जर्मनीको घरेलु नाम बनेको छ । ३३० एमएलको सीसाको बोतलमा अहिले यो जर्मनीकै दोस्रो बेस्ट सेलर हो । सन् २०१९ मा सीसाको बोतलमा फ्रिट्ज कोला ७ करोड १० लाख युनिट विक्री भएको थियो । उक्त वर्ष जर्मनीमा कोका–कोला ७ करोड ४० लाख बोतल विक्री भएको थियो भने पेप्सी चाहिँ जम्मा ३ लाख ३७ हजार बोतल विक्री भएको थियो ।
तर कोक र पेप्सीले ती बोतलका अलावा क्यान र अन्य प्लास्टिकका बोतलमा पनि विक्री गर्ने गर्छन् । कुरा जे भए पनि जम्मा १७ वर्ष अघि खुलेको कम्पनीले कुनै एक सेग्मेन्टमा कोकसँग प्रतिस्पर्धा गर्नु र पेप्सीलाई पछार्नु सानो उपलब्धी भने होइन ।
सन् २००३ मा लोगोको रुपमा माइक्रो र लरेन्जले आफ्नै अनुहार राख्ने निधो गरे । सस्तो उपाय भएका कारण उनीहरूले यो निर्णय गरेका थिए । शुरुवाती समयमा उनीहरूसँग ७ हजार युरोमात्र पूँजी थियो ।
‘हामीले आफ्नो अनुहार राम्रो बनाउन १०० युरो खर्च गरेका थियौं । त्यसपछि हाम्रो छिमेकीले उक्त फोटो फोटोशप गरेर काँटछाँट गरेका थिए । ब्राण्ड दर्ता गर्नको लागि चाहिँ हामीले ७० युरो खर्च गरेका थियौं । हामीले फ्रिट्ज कोला फन्ट पनि दर्ता गर्यौं,’ माइक्रो भन्छन् ।
यी दुई साथीहरूले रंगीन लेबल छाप्न पैसा धेरै खर्च हुने भएका कारण ब्ल्याक इन ह्वाइट लेबल छापेका थिए ।नाम छान्ने जिम्मा भने उनीहरूले सर्वसाधारणलाई नै दिएका थिए । संभावित ४० नामको सूची सपिङ सेन्टरको बाहिर राखेका उनीहरूले सर्वसाधारणकै छनौटका आधारमा फ्रिट्ज कोला नाम राखेका हुन् ।
पेय पर्दाथको कुरा गर्दा चाहिँ उनीहरू आफ्नो उत्पादन कोक र पेप्सीभन्दा फरक होस भन्ने चाहन्थे । त्यसैले उनीहरूले चिनीको कम प्रयोग गरे भने कागतीको रस थपे । उनीहरूले क्याफिनको मात्रा पनि बढाए । फ्रिट्ज कोलामा प्रति १०० एमएल क्याफिनको मात्रा २५ एमजी रहेको छ । यो मात्र कोकमा १० एमजी छ भने रेडबुलमा ३२ एमजी रहेको छ ।

माइक्रोका अनुसार शुरूवाती दिनहरूमा बारहरू फ्रिट्ज कोला राख्न पटक्कै इच्छुक थिएनन् । त्यो समय कोक र पेप्सी जस्ता चल्तीका पेय पदार्थका अलावा मानिसहरूले अन्य पेय पदार्थ पनि रुचाउन सक्छन् भनेर सोच्न सकिने अवस्था पनि थिएन ।
त्यसपछि उनीहरूले उत्पादन नबिकेको खण्डमा पूरै पैसा फिर्ता हुने गरी बारमा राख्न व्यवस्थापक र साहुहरूलाई मनाएका थिए ।‘हामीले सातै दिन र चौबिसै घण्टा पनि काम गरेका छौं । सौभाग्यवश मानिसहरूले हाम्रो कोला मनपराए,’ माइक्रो भन्छन् ।
तर त्यसका बाबजूद उनीहरूले पहिलो कर्मचारी नियुक्त गर्न र व्यवसायको ढाँचा निर्माण गर्न ३ वर्ष लाग्यो । त्यो बेलासम्म उनीहरूको अफिस समेत थिएन । त्यसपछि भने ‘वर्ड अफ माउथ’ कै आधारमा उत्पादनले विस्तारै चर्चा बटुल्न थाल्यो ।अहिले उनीहरूको कोला युरोपभरीका बारहरूमा विक्री हुन्छ । जर्मनी पछि उनीहरूको उत्पादन नेदरल्याण्ड, पोल्याण्ड, बेल्जियम र अष्ट्रियामा चर्चित छ ।
हाल फ्रिट्ज कोलाले ५ वटा बोटलिङ प्लान्टहरूलाई आउटसोर्स पनि गरेको छ । उनीहरूले उत्पादनमा पनि विविधता ल्याएका छन् । फोब्र्सका अनुसार कम्पनीको विक्री सन् २०१५ मा झण्डै ८० लाख युरो रहेको थियो ।
सन् २०१६ देखि यो व्यवसाय माइक्रो एक्लैले सञ्चालन गर्दै आएका छन् । लरेन्जले भने अन्य प्रतिबद्धताका कारण यो व्यवसाय छाडिसकेका छन् । माइक्रोसँग अहिले कम्पनीको दुईतिहाइ सेयर रहेको छ भने बााकी सेयर अन्य लगानीकर्ताको नाममा रहेको छ ।
१७ वर्ष अघिका दिनहरू सम्झदै माइक्रो त्यतिबेला आफुहरूलाई कसैले विश्वास नगरेको बताउँछन् । ‘मानिसहरू भन्थे तिमीहरू मूर्ख हौ । तिमीहरू पृथ्वीकै सबैभन्दा ठूलो ब्राण्डसँग प्रतिस्पर्धा गर्न खोज्दैछौ,’ माइक्रो सम्झन्छन् ।