पर्यटन क्षेत्रबाट हुने राजस्व संकलन ७४ प्रतिशतले घट्यो

काठमाडौं । पछिल्लो समय कोभिडका कारण पर्यटन क्षेत्रको राजस्व संकलनमा निकै प्रभाव परेको छ । यो पटक पर्यटन तर्फको राजस्व संकलन ७४ प्रतिशतले कम भएको छ ।

 

चालू आर्थिक वर्षको ८ महिना (साउन–फागुन) मा कुल ४७ करोड ७७ लाख रुपैयाँ राजस्व संकलन भएको छ । सो राजस्व गत वर्षको तुलनामा ७३.९३ प्रतिशत कम हो ।

 

गत वर्ष २०७६/७७ को सोही अवधिमा १ अर्ब ८३ करोड २३ लाख रुपैयाँ पर्यटन राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०७५/७६ को सोही अवधिमा १ अर्ब ७० करोड १८ लाख रुपैयाँ राजस्व संकलन भएको आन्तरिक राजस्व विभागको तथ्यांकले देखाएको छ ।

 

विभागका सूचना अधिकारी अर्जुन ढकालले कोभिडका कारणले होटल, रेष्टुरेन्ट, टुर एण्ड ट्राभल लगायतका विभिन्न पर्यटन क्षेत्र पूर्ण बन्द अवस्थामा रहेकाले राजस्व संकलन कम हुन गएका उनले बताए । चालू आर्थिक वर्षमा भने पर्यटन क्षेत्र सञ्चालनमा रहेपनि आन्तरिक पर्यटनको चहलपहल अझै कोभिडका कारण कम रहेकाले पर्यटन क्षेत्रको राजस्व संकलन सोचे जस्तो हुन नसकेको उनले बताए ।

 

‘पर्यटनतर्फ राजस्व थोरै संकलन हुनुका कारण कोभिड नै मुख्य हो, व्यापार नभई राजस्व मात्र उठाउन पनि सकिँदैन,’ ढकालले चाणक्य पोष्टसँग भने ।

 

सन् २०२० मा कुल २ लाख ३० हजार ८० पर्यटन नेपाल भित्रिएका थिए । गत वर्ष अमेरिका र क्यानेडाबाट २० हजार ८६९ पर्यटन नेपाल प्रवेश गरेका थिए ।

 

गत २०२० मा अष्ट्रेलिया र न्यूजिल्याण्डबाट कुल ७ हजार ५०० जना पर्यटन नेपाल आएका थिए । यस्तै यूरापेलीदेशबाट  २०२० अवधिभर ३५ हजार २१० पर्यटन नेपाल आएका थिए ।  चीन, जापान, मलेसिया, सिंगापुर, दक्षिण कोरिया, म्यानमार, थाइल्याण्ड लगायत देशहरुबाट ८० हजार ५८४ पर्यटन नेपाल प्रवेश गरेको पर्यटन बोर्डको तथ्यांकले देखाएको छ ।

 

बंगलादेश, भारत, पाकिस्तान, भुटान र श्रीलंकाबाट ६१ हजार ७९७ पर्यटन नेपाल भित्रिएका थिए । आन्तरिक पर्यटन २ लाख ३० हजार हाराहारीमा रहेका थिए । उक्त पर्यटन संख्या मध्ये ५० प्रतिशत घुम्न नभई आफ्नै गाउँ आउने जाने गर्ने गरेको पाइएको छ ।

दुई लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

दुई लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

दुई विद्यार्थी जो कोक र पेप्सीसँग लडे, अनि आफ्नै विश्व चर्चित ‘ब्राण्ड’ बनाए Read Next

दुई विद्यार्थी जो कोक र पेप्सीसँग लडे, अनि आफ्नै विश्व चर्चित ‘ब्राण्ड’ बनाए