सुर्तिजन्य पदार्थको तस्करी बढ्दो, नियन्त्रण गर्न नसक्दा सरकार र व्यवसायी दुवै मारमा

काठमाडौं । भारतबाट वर्षेनी करोडौँका सुर्तिजन्य वस्तु तस्करी भएर राजस्व छली हुँदै नेपाल भित्रिने गरेका छन् । सरकारले अवैध बाटो हुँदै भित्र्याइने सुर्ति तथा बिँडीजन्य वस्तुको नियन्त्रण गर्न नसक्दा तस्करी झनै मौलाउँदै गएको हो ।

 

बिँडी उद्योगी पंकज जैसवालले मासिक ५ करोड रूपैयाँ बढिको बिँडी भारतबाट तस्करी गरे विभिन्न समूहले नेपाल ल्याउने गरेको बताउँछन् । अन्य सूर्तिकजन्य पदार्थ समेत त्यसरी नै आउने गरेका छन् ।यसरी तस्कर भएर आउने गरेको सुर्तिजन्य वस्तुका कारण विशेष गरी बिँडी व्यवसायी मारमा पर्ने गरेको उनले बताए । उनले यसको समाधान सरकारले नीतिगत रूपमै गर्नु पर्ने बताए ।

 

‘मासिक भारतीय बजारबाट ५ करोड रूपैयाँ बराबरको बिँडी तस्कर भएर आउने गरेको छ, यी तस्करलाई कारबाहीको दायरमा ल्याउन नीतिगत रूपमा समाधान हुनुपर्छ,’ जैसवालले चाणक्य पोष्टसँग भने ।

 

स्थानीय प्रशासनले गर्ने अनुगमनमा ठूला प्रशासनहरूबाट रोकावट आउने गरेको उनले बताए । यस विषयमा आन्तरिक राजस्व विभागलाई बुदाँगत रूपमा लेखेर समेत बुझाइएको उनले बताए ।‘सम्बन्धित कार्यालयहरूले अनुगमन गर्न मान्दैनन्, अनुगमन गरिहाले सीडीओे कार्यलयबाट किन अनुगमन गरेको भनि प्रश्न सोधिन्छ,’ जैसवालले भने ।

 

तस्करीलाई कारबाहीको दायरामा ल्याउन सघाउने सर्वसाधरणाई समेत पुरस्कृत गरिने व्यवस्था हुनु पर्ने उनको भनाइ छ । भारतबाट सस्तोमा आउने बिँडीसँग प्रतिस्पर्धा गर्न नेपाली उद्योगले नसक्ने उनले बताए ।भारतीय बिँडीलाई विस्थापित गर्न कच्चा पदार्थ भारतबाट ल्याउन अनुमतिका लागि पहल गरेको उनले बताए । बारम्बार पहल भए पनि हालसम्म कच्चा पदार्थ ल्याउन पाउने अनुमति नभएको उनले बताए ।

 

नेपालमाभन्दा १० गुणासम्म सस्तो हुँदा तस्करी बढ्यो

 

भारतीय बजारमा नेपालमा भन्दा बिँडीको मूल्य १० गुणसम्म सस्ता हुँदा तस्करी बढेको हो । तस्करीले भारतबाट ५० रूपैयाँ प्रतिकेजी बिँडी ल्याउने गरेको उनको भनाइ छ । नेपालमा उत्पादित बिँडी प्रतिकेजी ५०० रूपैयाँसम्म पर्ने गरेको उनले बताए । सो बिँडी प्रतिकेजी ५०० रूपैयाँ पर्न आउनुका कारण २७५ अन्तःशुल्क, ३७५ महसुल र १३ प्रतिशत भ्याट रहेको छ । यसरी १ केजी बिँडीको मूल्य ५०० रूपैयाँ पर्न गएपछि व्यवसायीले भारतबाट तस्करी भइ आएका सुर्तिजन्य पदार्थसँग प्रतिस्पर्धा गर्न नसकेको बताए ।

 

उनले आफैले मात्र वर्षेनी १ करोड रूपैयाँ राजस्व सरकारलाई तिर्ने गरेको बताए । उनले बिँडी उद्योगहरूले कुल राजस्वको २५ प्रतिशत बुझाउन सक्ने क्षमता रख्ने दाबी गरे ।साथै उनले बिँडीलाई चुरोटसँग नदाँज्न समेत आग्रह गरे । गरिबले खाने बिँडीमा चुरोटको जस्तो महंगो कर तथा भ्याट नलगाउन माग गरे ।

 

उनले एउटा चुरोटको १० रूपैयाँ पर्ने र बिँडीको २ रूपैयाँ पर्ने भन्दै न्यून वर्गले खाने बिँडीलाई चुरोटसँग नदाज्न आग्रह गरेका हुन् ।‘चुरोट र बिँडीको मूल्यमा धेरै अन्तर भए पनि सरकारले उस्तै राजस्व उठाउने गरेको छ, यो साना न्यून वर्गले खाने कुरामा धेरै कर नलगाउन भनेर हामीले धेरै ठाउँ पहल गरिसकेका छौँ,’ जैसवालले भने ।

 

बारा जिल्लामा मात्र ११ बिँडी उद्योगी सञ्चालनमा रहेको छ । न्यून वर्गहरू खाने बिँडीमा सरकारले चुरोट बराबरनै राजस्व कर उठाउँदा उद्योग मारमा परेको उनले बताए । ती उद्योगले ४ हजार जनालाई रोजगार दिएको उनले बताए । गत वर्ष सो उद्योगले १० करोड बढी रकम राजस्व सरकारलाई बुझाएको उनले बताए ।

 

उनले तस्करीलाई कारबाहीको माग गर्दै अख्तियार, भन्सार, अर्थमन्त्रालाई धेरै पटक पहल गरे पनि सधैं आश्वासन मात्र आएको तर, कुनै कारबाही नभएको बताए । सरकारले सुर्तिजन्य पदार्थबाट चालु आर्थिक वर्षको ८ महिना (साउन–फागुन) मा कुल १२ अर्ब १५ करोड रूपैयाँ राजस्व संकलन गरेको छ ।

 

गत आर्थिक वर्ष २०७६/७७ को फागुन मसान्तसम्ममा १३ अर्ब ११ करोड रूपैयाँ बराबरको सुर्तिजन्य पदार्थबाट राजस्व संकलन भएको थियो । आर्थिक वर्ष २०७५/७६ मा कुल सुर्तिजन्य पदार्थबाट ९ अर्ब ९६ करोड रूपैयाँ राजस्व संकलन गरिएको थियो ।

 

सरकारले वर्षेनी सुर्तिजन्य पदार्थबाट अर्बैँ रकम राजस्व संकलन गर्दै आएको छ । आर्थिक वर्ष २०७६/७७ मा सुर्तिजन्य वस्तुबाट कुल १८ अर्ब ५४ करोड रूपैयाँ राजस्व संकलन भएको थियो ।र्सुितजन्य पदार्थको राजस्व संकलन वर्षेनी घट्ने क्रममा रहेको राजस्व विभागको तथ्यांकले देखाएको छ । यो वर्ष गत वर्षको तुलनमा ७.३१ प्रतिशतले सुर्तिजन्य वस्तुको राजस्व घटेको छ ।

 

सुर्तिजन्य वस्तुको राजस्व संकलन हुने क्रममा बिँडी, चुरोट, खैनी मुख्य रहने गरेका छन् । चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममाा सुर्तिजन्य वस्तु ४ लाख ७१ हजार रूपैयाँ बराबरको आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

नेप्सेमा दोहोरो अंकको करेक्शन, ३ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Previous

नेप्सेमा दोहोरो अंकको करेक्शन, ३ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

संसदीय समिति माथिल्लो तामाकोशीको स्थलगत अनुगमनमा जाँदै Read Next

संसदीय समिति माथिल्लो तामाकोशीको स्थलगत अनुगमनमा जाँदै