भारतले लगायो कोरोना खोप निर्यातमा रोक, नेपालसहित १९० देश प्रभावित

काठमाडौं । भारतले अक्सफोर्ड–एस्ट्राजेनेको कोरोना खोपको निर्यातमा अस्थायी रोक लगाएको छ । देशमा बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै यो निर्णय लिइएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

 

कोरोना भाइरस संक्रमितको संख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने भएकाले खोपमा रोक लगाइएको समाचरमा उल्लेख छ ।

 

भारतले अप्रिल १ तारिखबाट ४५ वर्षमाथिकालाई खोप कार्यक्रम शुरु गर्न लागेकाले माग बढने ठानिएको छ । भारतको यो कदमले अप्रिलको अन्त्यसम्म खोप आपूर्तिमा असर गर्ने बताइएको छ । भारतको निर्णयबाट कोभ्याक्स योजना अन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर पर्नेछ ।

 

नेपालमा धेरैले खोपको दोस्रो खेप नपाउने सम्भावना बढेर गएको छ । नेपालसँग करिब ७ लाख डोज खोप मात्र बाँकी रहेको छ । जुन पहिलो चरण खोप लगाएकाहरुलाई मात्र पुग्छ ।

 

भारतको सबैभन्दा ठूलो खोप निर्माता सिरम इन्स्टिच्युट अफ इन्डियाले थुप्रै देशमा एस्ट्राजेनेका खोप पठाउने काममा ढिलाइ गरेको छ । त्यसको असर बेलायत र ब्राजिलमा परिसकेको छ ।

 

भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोड भन्दा बढी खोप निर्यात गरिसकेको छ । भारत सरकारले जनवरी १६ तारिखबाट खोप कार्यक्रम शुरु गरेको थियो ।

 

भारतमा बुधवार यो वर्षकै धेरै ४७ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । २७५ को मृत्यु भएको छ ।

यती एअरलाइन्सको काठमाडौं-बनारस परीक्षण उडान सम्पन्न Read Previous

यती एअरलाइन्सको काठमाडौं-बनारस परीक्षण उडान सम्पन्न

नेप्सेमा दोहोरो अंकको करेक्शन, ३ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Next

नेप्सेमा दोहोरो अंकको करेक्शन, ३ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट