यती एअरलाइन्सको काठमाडौं-बनारस परीक्षण उडान सम्पन्न

काठमाडौं । विगत २३ वर्षदेखि नेपाली आकाशमा अनवरत उडान सेवा गर्दै आएको निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सले काठमाडौं-बनारस-काठमाडौँको परीक्षण उडान (प्रुभिङ फ्लाइट) सफलतापूर्वक सम्पन्न गरेको छ ।

 

दक्षिण पूर्वी एशिया र दक्षिण एशियाका मुलुकमा चार्टर/नन् सेड्युल फ्लाइट गर्ने उद्देश्यले नेपाल नागरिक उड्डयन प्राधिकरणमा केही महीनाअघि यतीले निवेदन दिएसँगै अन्तरराष्ट्रिय उडानका लागि प्राधिकरणबाट गरिएको चरणबद्ध प्रक्रियाअन्तर्गत यो उडान गरिएको यती एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता श्री सुदर्शन बर्तौलाले जानकारी दिए ।

 

यससँगै नेपाल नागरिक उड्डयन प्राधिकरणबाट यतीले अन्तरराष्ट्रिय उडानका लागि प्राप्त गर्ने अनुमति अन्तिम चरणमा पुगेको छ । बुधबारको उडानको प्रतिवेदनसँगै केही दिनभित्र यती एअरलाइन्सले अन्तरराष्ट्रिय उडानको एओसी प्राप्त गर्नेछ ।

 

यो परीक्षण उडान एअरलाइन्सका वरिष्ठ चालक रमोदकुमार श्रेष्ठ तथा प्रमोद पौडेलसहितको उडान दलले गरेका थिए । एटीआर–७२ विमानले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौँबाट बिहान १०ः०७ बजे लालबहादुर शास्त्री अन्तरराष्ट्रिय हवाई अड्डा वाराणसी, भारतका लागि उडान भरेर बेलुका ५ः४८ मा पुनः काठमाडौँमा अवतरण गरेको थियो ।

 

उक्त परीक्षण उडानमा नेपाल नागरिक उड्डयन प्राधिकरण तथा एअरलाइन्सका अफिसियलको सहभागिता रहेको प्रवक्ता बर्तौलाले जानकारी दिए। उनले नयाँ बन्ने क्षेत्रीय विमानस्थललाई नजिकका अन्तरराष्ट्रिय गन्तव्यलाई जोड्न र धार्मिक पर्यटनलाई भित्र्याउने उद्देश्यका साथ अन्तरराष्ट्रिय उडान भर्न लागेको बताए ।

 

यती एअरलाइन्सले आगामी दिनमा मध्यम दूरीमा उडान गर्नका लागि मध्यम सिट जहाज भित्र्याउने लक्ष्यसमेत राखेको छ । यती एअरलाइन्स र यती गुप्रले ट्राभल एजेन्सी, ट्रेकिङ कम्पनी र होटलमार्फत स्वदेशी तथा विदेशी पर्यटनलाई सेवा प्रदान गर्दै नेपालको पर्यटन क्षेत्रमा योगदान दिँदै आएको र आगामी दिनमा चार्टर उडानमार्फत थप पर्यटक भित्र्याउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

 

सन् २०२१ भित्रै दुई वटा एटिआर–७२ वायुयान थप्ने योजना बनाएको यो कम्पनीले अहिले एटीआर–७२ र जेटस्ट्रिम वायुयानमार्फत विभिन्न आन्तरिक गन्तव्यमा नियमित उडान गर्दै आएको छ ।

कर नतिर्नेलाई ७ दिनभित्र उपस्थित हुन महानगरको निर्देशन Read Previous

कर नतिर्नेलाई ७ दिनभित्र उपस्थित हुन महानगरको निर्देशन

भारतले लगायो कोरोना खोप निर्यातमा रोक, नेपालसहित १९० देश प्रभावित Read Next

भारतले लगायो कोरोना खोप निर्यातमा रोक, नेपालसहित १९० देश प्रभावित