काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्न विभिन्न क्षेत्रमा क्युआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।गत महीनासम्म न्यूनमात्रामा क्युआर कोडमार्फत भुक्तानी हुने गरेकामा माघमा ५० करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत पुस महीनाको तुलनामा माघमा मात्र ४६ करोड ७० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । गत पुसमा १ अर्ब २४ करोेड ५० लाख रुपैयाँ बराबरको कारोबार भएकामा माघमा १ अर्ब ७१ करोड २० लाख बराबरको कारोबार भएको हो ।
गत पुसमा तीन लाख ७२ हजार १७६ पटक कारोबार भएकामा माघमा ५ लाख ३५ हजार ७९० पटक कारोवार भएको छ । पछिल्लो समय कनेक्ट आइपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटमार्फत हुने कारोबार रकममा वृद्धि हुने गरेको छ । गत महीनाको तुलनामा माघमा मात्र अनलाइनमार्फत १० अर्ब बढीको कारोबार भएको छ ।
कनेक्ट आइपीएसमार्फत १ खर्ब ४ खर्बको कारोबार
राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्याङ्कअनुसार कनेक्ट आइपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर स्क्यान र मोबाइल वालेटमार्फत माघमा मात्र १ खर्ब ६३ अर्ब ८७ करोड बढीको कारोबार भएको छ ।
उक्त प्रविधिको प्रयोग गरी पुसमा १ खर्ब ५३ अर्ब १७ करोड बढीको कारोबार भएको थियो । बैंकको तथ्याङ्कअनुसार माघमा मात्र कनेक्ट आइपीएसमार्फत १ खर्ब ४ अर्ब ३९ करोडभन्दा बढीको कारोबार भएको छ । सो अवधिमा १५ लाख ४५ हजार पटक कनेक्ट आइपीएसको प्रयोग भएको छ ।
माघमा मोबाइल बैंकिङमार्फत ३८ अर्ब ५९ करोड ७० लाख बढीको कारोबार भएको छ । गत पुसमा ३३ अर्ब १५ करोड तीन लाख बढीको कारोबार भएको छ । माघमा मोबाइल बैंकिङमार्फत ९६ लाख ७२ हजार ४७८ पटक कारोबार भएको छ ।
इन्टरनेट बैंकिङमार्फत ९ अर्ब २२ करोड ७० लाख बढीको कारोबार भएको छ । माघमा ३१ हजार ४८२ पटक कारोबार भएको छ । वालेटमार्फत पुसमा ९ अर्ब ६५ करोड ६० लाख बराबरको कारोवार भएकामा उक्त रकममा वृद्धि भई माघमा ९ अर्ब ९४ करोड ८० लाख बराबरको कारोबार भएको छ । एक महीनामा १ करोड ५१ लाख छ हजार पटक कारोबार भएको छ ।
यसैगरी गत पुसमा अनलाइन (इ–कमर्श) बाट ८४ करोड ३० लाख बराबरको कारोवार भएकामा माघमा उक्त रकममा वृद्धि भई ९३ करोड २० लाख बराबरको कारोबार भएको छ ।