काठमाडौं । चालू आर्थिक वर्ष शुरू भए यता सेयर बजार निरन्तर उकालो लागेको छ । करिब ४ वर्ष लामो बियरिस ट्रेन्डमा रहेको सेयर बजारले पछिल्लो ९ महिना यता बुल ट्रेन्डमा रहेको छ । यद्यपि, पछिल्लो दुईसाता यता भने गिरावट आइरहेको छ ।
चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्म (८ महिना) को अवधि मात्रै नेप्से सूचक दोब्बरभन्दा धेरै (करिब १४०० अंक) बढेर इतिहासकै सर्वाधिक २६४० विन्दुमा पुगेको छ । यस अवधिमा लगानीकर्ताको सम्पत्ति करिब १४ खर्बभन्दा धेरैले बढिसकेको छ । साउनमा करिब २२ खर्ब रहेको बजार पूँजीकरण (साउन यता सूचीकृत भएका कम्पनीको सहित) अहिले बढेर ३४ खर्ब बढी पुगेको छ ।
विगतका वर्षहरुको तुलनामा चालू वर्षमा दैनिक कारोबार रकम उल्लेख्य बढ्नु, सेयर बजारमा थप नयाँ कम्पनीको आइपीओ सूचीकृत हुनु, सेयर कारोबारीको संख्या बढ्नु, दैनिक कारोबारको संख्या बढ्नु लगायत कारणले राजश्व संकलन उच्चदरले बढेको हो ।
निरन्तर सेयर बजार बढ्दा लगानीकर्ता मात्रै होइन सरकारलाई पनि अत्याधि फाइदा भएको छ । सेयर बजार बढ्दा लगानीकर्ताले कमाउने नाफा पनि बढेसँगै सरकारले पाउने राजश्व पनि सयौं गुणाले बढेको छ ।
चालू आर्थिक वर्षको ७ महिना (साउन-माघ)मा सरकारले सेयर बजार बजारबाट मात्रै ६ अर्ब ५८ करोड रुपैयाँ कर अशुल गरेको छ । यो हालसम्मकै धेरै हो । चालू आवमा सेयर कारोबारबापत अशुल भएको कर पछिल्लो ५ वर्षमा संकलन भएको कर बराबर हो । सरकारले आर्थिक वर्ष २०७२/७३ देखि २०७६/७७ सम्मको ५ वर्षको अवधिमा सेयर कारोबारबापत कुल ६ अर्ब ५९ करोड रुपैयाँ कर संकलन गरेको थियो ।
अघिल्ला वर्षहरूमा सेयर बजारमा सामान्य वृद्धि मात्र भएकाले लगानीकर्ताले धेरै नाफा कमाउन पाएका थिएनन् । तर, चालू आवमा सेयर बजारले नयाँ कीर्तिमान बनाउँदा लगानीकर्ताले १ खर्ब २५ अर्ब बढी नाफा कमाउँदा सरकारले पाउने कर पनि सयौं गुणाले बढेको हो ।
नेपाल स्टक एक्चेञ्चका अनुसार सरकारले आर्थिक वर्ष २०७२/७३ मा सेयर बजारबाट १ अर्ब ७७ करोड रुपैयाँ कर संकलन गरेको थियो । सो बेला नेप्से त्यसबेलासम्मको सर्वाधिक १८०० विन्दु माथि पुगेको थियो ।
त्यसैगरी, आर्थिक वर्ष २०७३/७४ मा यस्तो कर १ अर्ब ८१ करोड रुपैयाँ, आव २०७४/७५ मा ७४ करोड, २०७५/७६ मा ९४ करोड र २०७५/७६मा १ अर्ब ३५ करोड रुपैयाँ संकलन भएको थियो ।
लगानीकर्ता तथा धितोपत्र व्यवसायीहरूले सेयर कारोबारमा पूँजीगत लाभकर, लाभांश, आयकर र अग्रिम कर कट्टी बापत सरकारलाई कर तिर्नु पर्दछ ।
यसकारण उठ्यो इतिहासकै धेरै कर
विगतका वर्षहरुको तुलनामा चालू वर्षमा दैनिक कारोबार रकम उल्लेख्य बढ्नु, सेयर बजारमा थप नयाँ कम्पनीको आइपीओ सूचीकृत हुनु, सेयर कारोबारीको संख्या बढ्नु, दैनिक कारोबारको संख्या बढ्नु लगायत कारणले राजश्व संकलन उच्चदरले बढेको हो ।
चालू आवको ७ महिनामा कबिर एकदर्जन कम्पनीले आइपीओ जारी गरी नेप्सेमा सूचीकृत भइ कारोबारमा आइसकेका छन् । जसले सेयर कारोबारका साथै राजश्व समेत बढाउन सहयोग गरेका छन् ।
यस्तै गत आवमा दैनिक औसतमा करिब ५० करोड हाराहारीमा कारोबार हुँदै आएको त्यो अहिले करिब १० गुणाले बढेर औसतमा दैनिक ७ अर्बभन्दा माथि पुगेको छ । चालू आवमै सेयर बजार इतिहासमा एकैदिन १० अर्ब ६७ करोडको कारोबार हुँदै सर्वाधिक कारोबारको रेकर्ड समेत बनाएको थियो ।
यस्तै, गत आवको मंसिरसम्ममा करिब १८ हजारले मात्र अनलाइलान कारोबार गर्थे भने अहिले त्यो संख्या बढेर करिब ४ लाख पुगेको छ । नेप्सेका अनुसार हाल ८५ प्रतिशतभन्दा बढीले अनलाइनमार्फत नै सेयर कारोबार गर्न थालेका छन् ।
अनलाइबाटै सहजै कारोबार गर्न सकिने भए पछि बजारमा नयाँ लगानीकर्ता उल्लेख्य रुपमा प्रवेश गरेका छन् भने यो क्रम बढ्दो छ । जसले कारोबार रकम र राजश्व दुवै बढ्न पुगेको हो ।
सेयर बजार बढेसँगै लगानीकर्ताले नाफा कमाउँदा सरकारले पाउने पूँजीगत लाभकर समेत ह्वात्तै बढेको हो । चालू आवको माघसम्म लगानीकर्ताले सेयर कारोबारबाट १ खर्ब २५ अर्ब बढी खुद नाफा कमाएका छन् । जसबापत उनीहरुले पूँजीगत लाभकर मात्रै ५ अर्ब ६६ करोड रुपैयाँ तिरेका छन् ।
हालको व्यवस्था अनुसार व्यक्तिगत लगानीकर्ताले सेयर कारोबार बापत भएको नाफाको ५ प्रतिशत र संस्थागत लगानीकर्ताले नाफाको १० प्रतिशत पूँजीगत लाभाकर तिर्नुपर्छ ।