काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका अनुसार मंगलबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य वृद्धि गरेको छ ।
यसअघि निगमले गत फागुन १७ मा मूल्य बढाएको थियो । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ११८ रुपैयाँ पुगेको छ भने डिजेल, मट्टीतेल प्रतिलिटर १०१ रुपैयाँ पुगेको छ ।
यस्तै हवाई इन्धन आन्तरिकको साविक मूल्यमा २ रुपैयाँले वृद्धि हुँदा प्रतिलिटर ७४ रुपैयाँ पुगेको छ । खान पकाउने एलपी ग्यास तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फको खुद्रा विक्री मूल्य भने हाललाई यथावत नै राखिएको छ ।
मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा ९.३५ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५.८० रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ३९२.८२ रुपैयाँ घाटा रहेको छ । त्यसआधारमा अर्धमासिक रुपमा निगमलाई १ अर्ब २७ करोड ७० लाख बराबरको घाटा रहेको दाबी गरिएको छ ।
सो घाटा रकम मूल्य स्थितीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त भएको मूल्यअनुसार नै निगमले मूल्य समायोजन गरेको जनाएको छ ।