विराटचोकमा ठडियोे ‘नेपालीरिका’, ५ वर्षमा ५ वटा तारे होटल खोल्ने

विराटचोक । सवारीसाधनमा प्रयोग हुने लुब्रिकेन्ट उत्पादक समूह पूर्वाञ्चल ल्युब आयल (पीएलओ ग्रुप) ले पर्यटन क्षेत्रमा पनि आफ्नो लगानी विस्तार गरेको छ ।

 

यसैक्रममा, ग्रुपले करिब ६५ करोड रुपैयाँ लगानीमा मोरङको विराटचोकमा तारे होटल संचालनमा ल्याएको छ । ग्रुपले ‘नेपालीरिका’ ब्राण्डको  होटल सञ्चालनमा ल्याएको हो ।

 

‘२ हप्ता अघि होटलको सफ्ट ओपनिङ गर्यौं, अबको करिब ४५ दिन अर्थात वैशाख १८ गते होटलको ग्राण्ड ओपनिङ गर्ने हाम्रो योजना रहेको छ । यसका अलावा हाम्रो अर्को होटल दमकमा पनि तयार हुँदैछ । यी दुइवटै होटलहरूको ग्राण्ड ओपनिङ हामी एकैदिन गर्ने योजनामा रहेका छौं,’ होटलका सञ्चालक आकाश दुलालले चाणक्य पोष्टसँग भने ।

 

यो ग्रुप विगत २४ वर्षदेखि सञ्चालनमा रहेको ग्रुप हो । यसले विभिन्न इन्जिनहरूमा प्रयोग हुने लुब्रिकेन्टहरू उत्पादन गर्दै आएको छ । लुब्रिकेन्टको क्षेत्रमा नेपालकै नम्बर १ ब्राण्ड आफू रहेको पीएलओको दाबी छ ।

अहिले पूर्वाञ्चलको विराटचोक पर्यटकीय दृष्टिकोणले त्यति चर्चित छैन । धार्मिक दृष्टिकोणले पनि चल्तीमा छैन । तर यो क्षेत्रको विकास तीव्र गतिमा भइरहकको हुनाले तत्कालको लागि भन्दा पनि भविष्यलाई ध्यानमा राख्दै यो स्तरको होटल खोलिएको सञ्चालक दुलालले बताए ।

 

‘विराटचोक अहिले छाटो समयमै धेरै विकास भएको पूर्वाञ्चलाको महत्वपूर्ण ठाउँ हो । यहाँ धेरै बैंक, बीमा, विकास बैंक, सहकारी लगायत वित्तीय संस्थाहरूको शाखा कार्यालयदेखि मुख्य कार्यालय समेत रहेको अवस्था छ । तर यहाँ अहिलेसम्म एउटा पनि गुणस्तरीय होटल छैन । राम्रो रेष्टुरेन्टमा गएर खाउँ न त भन्दा पनि पाइँदैन । पार्टी प्यालेस एउटा पनि छैन,’ दुलाल भन्छन् ‘विराटचोकबाट विराटनगर जाने ४ लेनको बाटो बन्दै छ । संभवत एक वर्षभित्रै बन्छ होला । कोभिडको कारणले मात्र अलि ढिलो भएको हो । यो बाटो बनिसकेपछि विराटनगर र विराटचोकको यात्रा २०–२५ मिनेटको मात्र हो । त्यसो हुँदा यहाँबाट विराटनगर, इटहरी, उर्लाबारी जस्ता ठाउँहरूमा जान सजिलो हुन्छ । त्यसैले यो ठाउँको भविष्य उज्ववल छ भनेर हामीले यो ठाउँमा लगानी गरेका हौं ।’

 

यसका अलावा यो ग्रुप यही ठाउँबाट शुरू भएको र सञ्चालकहरूको घर समेत यही ठाउँमा भएका कारण भावनात्मक सम्बन्ध पनि रहेको दुलालको भनाइ छ ।

अहिले होटलमा ५१ वटा कोठाहरू छन् । एउटा सानो बोर्डरुम पनि होटलमा छ । यसका अलावा होटलमा २ वटा ब्याङक्वेट हल पनि छ । यी दुई ब्याङक्वेटहरू एउटा ३५० र अर्को ५०० को क्षमताको रहेका छन् । यहाँ ३ वटा रेष्टुरेन्टका आउटललेटहरू छन् भने एउटा जिम हल छ । स्पा, साउना इत्यादी पनि अबको एक महिनामा सञ्चालनमा आउने दुलालले बताए ।

 

यही होटललाई लिएर ग्रुपका अन्य योजनाहरू पनि रहेका छन् । अबको दुई वर्षमा क्यासिनो समेत सञ्चालनमा ल्याउने योजनामा रहेको यो होटलले भविष्यमा १ हजार जना अट्ने अर्को एउटा हल पनि बनाउने बताएको छ । होटलले इन्भेष्टमेन्ट समिटहरू जस्ता ठूला कार्यक्रमहरू गर्नका लागि पनि क्षमता बढाउने बताएको छ ।

 

परिश्रमको प्रतिफलको सम्मानमा जुराइएको नाम ‘नेपालीरिका’

 

होटलको नाम भने अलि अनौठो खाले नै छ । झट्ट सुन्दा नेपाल र अमेरिकाको नाम मिलाएर जुराएको जस्तो लागे पनि कुरा त्यस्तो भने होइन रहेछ ।

नामको सन्दर्भमा सञ्चालक दुलाल भन्छन्, ‘शुरू–शुरूमा त नेपाल र अमेरिकाको फ्युजन गरेर नेपालीरिका नाम राखेको हो कि भन्ने हल्ला पनि चल्यो । तर कुरा त्यस्तो होइन । नेपाली त नेपाली नै भइहाल्यो । रिकाको अर्थ चाहिँ भगवानसँग लामो समयसम्म तपस्या गरेर पाएको चिजको अर्थ लाग्छ । संस्कृत शब्द हो यो । यो धेरै मिहिनेत र परिश्रमको उपज भएका कारण नाममा पनि यो रिका शब्द राखिएको हो । बुबाहरूको धेरै मिहिनेतको उपज हो यो होटल ।’

 

पछिल्लो समय युवा व्यवसायहीरू पर्यटन क्षेत्रमा धेरै आकर्षित भइरहेका छन् । आकाश आफैं पनि हालै अन्तराष्ट्रिय व्यापारमा स्नातक गरेर पूर्णकालिन रूपमा व्यवसायमा होमिएका हुन् । तर विगत दुई वर्षदेखि नै आंशिक रूपमा व्यवसायमा आफू लागिसकेको उनले बताए ।

 

तपाईं त युवा व्यवसायी । कस्तो खाले ‘एक्पर्टिज’ हासिल गरेर यो व्यवसायमा आउनुभयो भन्ने प्रश्नमा आफूसँग कुनै विशेषखाले एक्पर्टिज भने नभएको दुलालले बताए ।

‘हामीले औपचारिक रूपमै कुनै खाले ‘एक्पर्टिज’ लिएर व्यवसायमा आएको भन्दा पनि खास हामी पूर्णरूपमै व्यवसायिक वातावरणमै हुर्किएका हौं । हाम्रो वाल्यकाल त्यसरी नै वित्यो । व्यवसायिक मानिसहरू नै हाम्रो घरमा आउँथे,’ दुलाल भन्छन् ‘ मैले औपचारिक रूपमा चाहिँ अन्तर्राष्ट्रिय व्यापारमा स्नातक गरेको छु । २ वर्षदेखि म व्यवसायमा लागेको छु । बहिनीले पनि कन्ट्रक्सन व्यवसायमा हात हालेकी छन् । ठूलो बुबाको छोराहरू पनि व्यवसाय मै हुनुहुन्छ । पीएलओ ग्रुपका सबै पार्टनरहरूका छोराछोरीहरू व्यवसायमै लाग्नुभएको छ ।’

 

नेपालले पर्यटनलाई आर्थिक विकासको खम्बा मानेको भएपनि नेपालका सबै क्षेत्रमा प्रभावकारी ढंगले पर्यटकीय विकास भएको छैन । विदेशीहरू नेपाल भन्ने बित्तिकै काठमाडौं, पोखरा, चितवन वा सगरमाथा मात्र चिन्छन् ।पूर्वाञ्चल त झन् पर्यटकीय दृष्टिकोणले निकै पछाडी नै रहेको छ । यो क्षेत्रका पर्यटकीय क्षमताको बारेमा धेरै खोजिनीति भएको छैन । प्रभावकारी मार्केटिङ पनि भएको देखिएको छैन ।

 

‘नेपालमा अहिले पर्यटन सम्बद्ध धरै क्षेत्रहरू ‘एक्सप्लोर’ नै भएको छैन । लुकेर बसेका छन् । उदाहरणको लागि सगरमाथा बेस क्याम्प कति चर्चित छ ? तर हेर्नुस त कञ्चनजङ्गा बेस क्याम्पलाइ कसैले चिनेकै छैन । प्रचार नै भएको छैन । प्रदेश नम्बर १ को पनि कुरा यस्तै छ । कोही विदेशी पर्यटक आयो भने उ पोखरा जान्छ, चितवन जान्छ । तर पूर्व आउँदैन । यस्तो किन भइरहेको छ ? मार्केटिङ नपुगेको हो कि ? यहाँबाट कोशी टापु धेरै नजिक छ । त्यहाँ ५०० भन्दा बढि प्रजातीका चराहरू पाइन्छ । तर मानिसहरूलाई त्यसका बारेमा थाहै छैन,’ दुलाल तथ्यप्रति सचेत देखिए ।

 

आगामी ५ वर्षमा थप ५ वटा होटल खोल्ने लक्ष्य

पूर्वाञ्चलबाट होटल व्यवसाय शुरू गरेको पीएलओ ग्रुपले आगामी ५ वर्षभित्र देशका विभिन्न ठाउँमा ५ वटा होटल खोल्ने लक्ष्य राखेको छ ।

 

‘कञ्चनजंघा, कोशीटप्पु लगायत देशभरका प्रचुर पर्यटकीय सम्भावना भएका गन्तव्यमा अहिलेसम्म न्यूनतम सुविधाका होटलसमेत छैनन्, दुलालले भने, ‘त्यसैलाई मध्येनजर गर्दै हामीले आगामी ५ वर्षभित्र देशका धार्मिक तथा पर्यटकीय गन्तव्यलाई केन्द्रमा राखी सुविधा सम्पन्न होटल खोल्ने योजना बनाएका छौं ।

 

देशका कुन–कुन ठाउँमा नयाँ होटल खोल्ने भन्ने एकीन भइ नसके पनि पर्यटकीय सम्भावना र अहिलेसम्म सुविधायुक्त होटल नबनेका ठाउँमा खोलिने उनको भनाइ छ ।अब खुल्ने सबै नयाँ होटल  ‘नेपालीरिका’ ब्रान्ड अन्तर्गत खुल्ने दुलालले बताए ।

 

सेयर बजारमा झिनो सुधार, यी ५ कम्पनीका लगानीकर्ता मालामाल Read Previous

सेयर बजारमा झिनो सुधार, यी ५ कम्पनीका लगानीकर्ता मालामाल

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको भाउ, कति पुग्यो लिटरको ? Read Next

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको भाउ, कति पुग्यो लिटरको ?