काठमाडौं । नेपालमा वर्षेनी हजारौँ संख्यामा विदेशी कामदार श्रमिकको रूपमा आउने गरेका छन् । विषेश गरी चीन, भारत, अस्ट्रेलिया लगायत मुलुकबाट दक्ष तथा प्राविधिक कामदारहरू विभिन्न ठूला पूर्वाधार आयोजनामा काम गर्न आउने गरेका छन् ।
तर, कोरोनाका कारण गत वर्ष आफ्नो देश फर्किएका धेरै विदेशी कामदार अझै नेपाल फर्किन सकेका छैनन् । सो कारण ठूला पूर्वाधार आयोजना निर्माणमा समेत ढिलाइ हुने संकेत देखिएको छ ।
विभागका अनुसार फागुन मसान्तसम्ममा कुल ५४८ जना नयाँ विदेशी कामदारले नेपालमा काम गर्न श्रमस्वीकृति लिएका छन् । गत आवको सोही अवधिमा भने यस्तो संख्या ७८३ जना रहेको थियो ।
नेपालमा आउने विदेशी कामदारको संख्या पछिल्लो समय घटेको छ । चालू आर्थिक वर्ष २०७७/७८ को ८ महिना (साउन–फागुन) मा नेपाल आउने विदेशी कामदारको संख्या ३५.६ प्रतिशतले घटेको हो । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले गत आवको सोही ८ महिनाको अवधिको तुलनामा चालू आवमा ३५ प्रतिशतले विदेशी कामदार आउने क्रम घटेको जनाएको छ ।
विभागका अनुसार फागुन मसान्तसम्ममा कुल ५४८ जना नयाँ विदेशी कामदारले नेपालमा काम गर्न श्रमस्वीकृति लिएका छन् । गत आवको सोही अवधिमा भने यस्तो संख्या ७८३ जना रहेको थियो ।
यस्तै, यस अवधिमा नेपालमै कार्यरत ७९३ जना विदेशी कामदारले आफ्नो श्रमस्वीकृति नवीकरण गराएका छन् । गत आवको सोही अवधिमा ६२९ जनाले आफ्नो श्रमस्वीकृति नवीकरण गराएका विभागले जनाएको छ । गत आवभर भने १ हजार ९१ जनाले नयाँ श्रमस्वीकृति र ९५९ जनाले श्रमस्वीकृति नवीकरण गराएको विभागको तथ्यांकमा उल्लेख छ ।

विभागका महानिर्देशक सनत केसीले कोरोना महामारीका कारण विदेशी कामदार घटेको बताए । उनले कोरोना नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीमा विदेशी कामदारको आगमन संख्या शून्य नै रहेको पनि लकडाउन खुलेसँगै केही मात्रामा विदेशी कामदार नेपाल आउन थालेका बताए । अझै पनि धेरै आयोजनाहरूका लागि विदेशी कामदार नेपाल आउने क्रममा रहेको उनले बताए ।
‘कोरोनाका कारण बन्दाबन्दीमा नयाँ विदेशी कामदारको आगमन शून्य नै थियो, अहिले आफ्नो देश फर्किएका निकै कामदारहरू नेपाल आइसके, अझै केही आउने क्रममा रहेका छन्,’ महानिर्देशक केसीले भने ।
हाल नेपालमा भारत, चीन, अमेरिका, अस्ट्रेलिया लगायत ८० भन्दा बढी देशका १६ हजार ३७८ जना कामदार कार्यरत छन् । नेपालमा सबैभन्दा बढी कामदार चीनबाट आएको श्रम विभागको भनाइ छ । यी औपचारिक रूपमा श्रमस्वीकृति लिएर नेपालमा काम गर्दै आएका कामदार हुन् । दक्षिण छिमेकी मुलुक भारतका कयौं कामदार श्रमस्वीकृति नलिइ नेपालको विभिन्न क्षेत्रमा काम गर्दै आएका छन् ।
नेपालमा जलविद्युत् आयोजना, पाँचतारे होटेल, विदेशी स्वामित्वका बैंक तथा बीमा कम्पनी, विमान कम्पनी, गैरसरकारी संस्थालगायत क्षेत्रमा विदेशी कामदार रहेका छन् । उनीहरूले नेपालबाट अर्बाैं रूपैयाँ रेमिट्यान्स (विप्रेषण) का रूपमा लैजाने गरेका पनि छन् । विशेष गरी यसपटक कोरोनाका कारण विदेशी कामदारको आगमन घटेको विभागले बताएको छ ।
नेपालमा चिनियाँ कामदारहरू धेरै छन् । विशेष गरी नेपालको जलविद्युत् आयोजनामा चिनियाँहरू प्राविधिक जनशक्तिका रूपमा आउने गर्छन् । तर, कोरोनाका कारण विगत एक वर्षदेखि नै चिनियाँ कामदार आवश्यक मात्रामा नेपाल आउन सकेका छैनन् । यस्तै, कोरोनाका कारण पाँचतारे होटेल, पर्यटन उद्योगलगायत क्षेत्र प्रभावित हुँदा पनि त्यस्ता क्षेत्रमा पहिलाको जस्तो नयाँ विदेशी कामदार मगाउन नसकिएको विभागको दाबी छ ।
नेपालमा विदेशी कामदारलाई श्रमस्वीकृति दिने अधिकार श्रम विभागसँग छ । कामदारले रोजगारदाता संस्थाको निवेदन, कार्य क्षेत्रसँग सम्बद्ध मन्त्रालयको सिफारिश र गृह मन्त्रालयको सहमतिपत्र बुझाएपछि विभागबाट श्रमस्वीकृति पाउन सक्नेछन् । यसका लागि उनीहरूले वार्षिक २० हजार रूपैयाँ बुझाउनुपर्ने हुन्छ । विदेशी कामदारले नेपालमा ७ वर्षसम्म काम गर्न पाउने श्रम ऐनमा व्यवस्था रहेको छ ।
नेपालको विभिन्न जलविद्युत् आयोजनाहरू, विदेशी स्वामित्वका स्ट्यान्डर्ड चार्टर्ड बैंक, एसबीआई बैंक, एभरेष्ट बैंक, नेशनल इन्स्योरेन्स, दि ओरियन्टल इन्स्योरेन्स, म्यारियट होटेल, याक एन्ड यति होटेल, सोल्टी होटेलजस्ता संस्थामा विदेशी कामदार रहेका छन् । यस्तै, विभिन्न शैक्षिक संस्थाहरू, विमान कम्पनीमा पनि विदेशी कामदार कार्यरत छन् । यसका अतिरिक्त निर्माणका क्षेत्रमा पनि विदेशी कामदार कार्यरत रहेका छन् ।