काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार एकैदिन ५१ अंकले घटेको बजार आज पनि दोहोरो अंकले घटेको हो । यससाता दुई दिनमै बजार ६९ अंकले घटेको छ ।
फागुन दोस्रो सातादेखि निरन्तर ओरालो लागेको बजारले आफ्नो यात्रा कायमै राखेको छ । पछिल्लो ३ सातामा नेप्से २५० अंकले घटिसकेको छ भने घट्ने क्रम अझै जारी छ ।
सेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्ने कुनै नीतिनियमम परिवर्तन नभए पनि बजार निरन्तर ओरालो लागेको छ । विघटित संसद पुनःस्थापना पछि बजारले झनै गति लिने आशा गरिए पनि त्यसको ठीक उल्टो भएको छ ।
यसअघि बैंकहरुले चैत महिनामा पनि ब्याज बढाउने हल्ला चलाउँदा बजारमा केही असर देखिएको थियो । तर, केही बैंकहरुले ब्याजदर पहिलाकै जत्ति र केहीले अझै घटाएका छन् । ब्याजदर नबढे पनि लगानीकर्तामा उत्साह देखिएको छैन । जसले बजार लगातार ओरालो लागद्यै गएको छ ।
यस्तै, पछिल्लो समय देशमा राजनीतिक अस्थिरता छाउने संकेत देखिएको छ । यसले लगानीकर्ता निराशा हुँदा थप लगानी गर्न पर्ख र हेरको अवस्थामा छन् । जसले बजार घटाउन सहयोग गरेको देखिन्छ ।
पछिल्लो केही साता यता सूचकसँगै कारोबार रकम पनि घट्दै गएको छ । फागुन दोस्रोसातासम्म औसतमा दैनिक ९ अर्ब कारोबार हुँदै आएकोमा पछिल्लो तीन सातामै घटेर ५ अर्बभन्दा कममा सीमित भएको छ ।
आज सेयर बजार मापक सूचक नेप्से १८.०७ अंकले घटेर २३८९.१९ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१२ कम्पनीको ४ अर्ब २४ करोड ८४ लाख २४ हजार ६६ रुपैयाँ बराबरको ९६ लाख ४ हजार ५२९ कित्ता सेयर किनबेच भएका छन् ।
सोमबार कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको परिसूचमा हरियाली छाएको छ भने ८ समूहको परिसूचक राताम्मे भएका छन् । होटल समूह सबैभन्दा धेरै ९०.९३ अंकले बढेको छ भने निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १९२.६१ अंकले घटेको छ ।
कारोबारमा आएका २१२ कम्पनीमध्ये ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १३० कम्पनीको मूल्यमा गिरावट आएको छ । १९ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज नेपाल इन्फ्रस्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । यसको सबैभन्दा धेरै ४३ करोड ६२ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा अपर तामाकोशीको २९ करोड र नबिल बैंक १९ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।
दोहोरो अंकले घटेको बजारमा पनि आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । चन्द्रागिरी हिल्स, घलेम्दी हाइड्रोपावर र पञ्चकन्या माइ हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
घट्दो बजारमा हिमालयन पावर कम्पनीका सेयरधनीले सबैभन्दा धेरै ६.२५ प्रतिशत गुमाएका छन् ।