चाँडै लण्डनमा रेष्टुरेन्ट खोल्दैछु, त्यहीँबाट नेपाली खाना विश्वभर चिनाउने छु : सेफ सन्तोषको अन्तर्वार्ता
चाणक्य पोष्ट
प्रकाशित : 3:40 pm, आइतबार, चैत १, २०७७

Advertisement Section

काठमाडौं । सेफ सन्तोष शाह अहिले चर्चित छन् । मास्टर सेफ यूके जस्तो प्रतिष्ठित प्रतियोगितामा उपविजेता भएपछि उनको चर्चा विश्वभरी नै हुन थालेको छ । नेपालमा त उनी चर्चाको शिखर मै छन् ।

 

नेपालमा उनले नेपालको नाम विश्वमा राखेको, नेपाललाई चिनाएको जस्तो अर्थमा धेरै चर्चा भइरहेको छ । तर उनले गरेको सबैभन्दा महत्वपूर्ण काम र त्यसलाई भविष्यमा कसरी अघि बढाउने भन्ने विषयमा भने उती चर्चा भएको छैन ।

 

सेफ सन्तोष शाहले गरेको सबैभन्दा महत्वपूर्ण काम भनेको खासमा नेपाली खानालाई ‘फाइन डाइन’को हैसियतमा उकाल्नु हो । चल्तीका खानाहरू पेट भर्नका लागि मात्र खाइने र नेपालका कुना कन्दरामा चल्ने गरेका खाद्य वस्तुहरू र पाककला राज्यको प्रभावकारी संरक्षण नीतिको अभावका कारण लोप हुँदै गएको र विदेशमा त झन् नेपाली खाना भारतीय खानाको छायाँमा परेको अवस्थामा सेफ शाहले नेपाली खानालाई विश्व परिवेशमा सानो हैसियत दिलाउन सफल भएका छन् । तर उनको यो प्रयास चराले चुच्चामा पानी बोकेर रुख भिजाउन खोजेजस्तै हो ।

 

महङ्गा र फाइन डाइन रेष्टुरेन्टहरूको मेनुमा नेपाली खानालाई स्थायी रूपमै प्रवेश गराउन र विश्वका नामी सेलिब्रेटी सेफहरूले नेपाली खाना पकाउने अवस्था ल्याउन राज्यकै तर्फबाट प्रभावकारी नीतिको आवश्यकता पर्छ र धेरै ‘सन्तोष’हरू जन्माउन सक्नुपर्छ । नेपाल ‘चिनाउने’ र ‘चिनाएको’ भनेर अमूर्त डम्फु बजाएर मात्र त केही हुनेवाला छैन । प्रस्तुत छ यी र यस्तै सन्दर्भमा चाणक्य पोष्टले सेफ शाहसँग गरेको कुराकानीको सम्पादित अंश  :

 

तपाईं मास्टर सेफ यूकेको फाइनलिस्ट त बन्नुभयो । यो त कुनै औपचारिक उपलब्धी त होइन । एउटा सेफको सबैभन्दा ठूलो उपलब्धी भनेको ‘मिचेलिन स्टार’ जित्नु हो । त्यो जित्ने प्रयास गर्नका लागि चाहिँ तपाईं के गर्दैहुनुहुन्छ ?

 

मिचेलिन स्टार जित्नु नै मेरो सबैभन्दा ठूलो सपना हो । मेरो खाना मिचेलिन स्टार जित्ने खाले नै छन् । मैले मिचेलिन स्टारहरूसँगै काम गरेको छु ।

तर म त्यो नेपाली खानाले नै जित्न चाहन्छु, भारतीय खानाले होइन । काम त म अहिले पनि भारतीय रेष्टुरेन्ट मै हेड सेफको रूपमा गर्छु । नेपाली खानाबाट मिचेलिन स्टार जित्नु नै ठूलो स्टार हुनु हो । त्यो भनेको तपाईंहरू सबै र समग्र नेपालीहरू नै स्टार हुनु हो । तर त्यसका लागि नेपालमा, भारतमा वा दुवईमा काम गरेर हुँदैन । लण्डनमै गर्नुपर्छ ।

 

नेपाली खानाबाटै मिचेलिन स्टार जित्न चाहन्छु भन्नुहुन्छ । तर तपाईं त नेपालबाट धेरै पहिला भारतमा गएर काम गरेको मान्छे । त्यसपछि फेरि लण्डनमा गएर पनि भारतीय खानाहरूनै बनाउनुभयो । यस बीच नेपाली खाना, त्यो पनि लोकपरिकार, बनाउन चाहिँ कहाँ र कसरी सिक्नुभयो ?

 

सोझो भाषामाभन्दा मैले आफ्नो घरमै धेरै ‘प्राक्टिस’ (अभ्यास) गरे । लकडाउनको समयमा मैले धेरै अभ्यास गरें । त्यो समय मैले काम गर्ने रेष्टुरेन्ट पनि बन्द नै थियो । अलिअलि ‘टेक अवे’ मात्र थियो ।

 

नेपालमा सामान्य रेष्टुरेन्टमा खाना खाइरहेका मान्छेहरूलाई एकैपटक फाइन डाइन रेष्टुरेन्टमा लैजान सजिलो छैन । यसका लागि विस्तारै माहोल बनाउनुपर्छ र उपयुक्त ठाउँबाट बनाउनुपर्छ भन्ने मेरो बुझाइ हो ।

 

अर्को कुरा चाहिँ केही फरक गर्नुपर्छ भन्ने मेरो सोचको कारणले पनि मैले नेपाली लोकपरिकारहरूको फ्युजन गर्न सिकेको हो । मैले  सामान्यतया अरुलेभन्दा केही फरक र नौलो गर्ने प्रयास गरेको हो । प्रायः भारतीय सेफहरूले बिरयानी, करी लगायत मात्र पकाउँछन् । तर, भारतमै काम सिके पनि मैले चाहिँ त्योभन्दा नयाँ गर्न खोजें ।

 

लण्डनमा गोर्खाको कारणले र हिमालको कारणले पनि नेपालीहरूलाई अलि बढि माया गर्छन् । त्यसले पनि मलाई सहज बनायो ।

 

केही समययता तपाईं नेपालमा हुनुहुन्छ । ठूलो प्रतिस्पर्धाको उपविजेताको रूपमा आउनुभएको छ । विश्वकै उत्कृष्ट मानिने रेष्टुरेन्टहरूमा काम गर्नुभएको छ । नेपालका होटल र रेष्टुरेन्ट चाहिँ कस्तो पाउनुभयो । कस्ता खाले सुधार गर्नुपर्ने देख्नुभयो ?

 

यसको सुधार र स्तरोन्नतिको लागि अहिले यहाँका मानिसहरू लागि परिसके । पर्यटन क्षेत्रसँग सम्बन्धित निजी क्षेत्रका संगठनहरू जस्तै पाटा, हान, नाट्टा, रेबान लगायत संस्थामा आबद्ध व्यवसायीहरूले प्रभावकारी ढंगले काम गरिरहका छन् । विश्वका उत्कृष्ट होटल र रेष्टुरेन्टहरू कस्ता छन् र नेपाललाई ती क्षेत्रमा कसरी विकास गर्ने भनेर उनीहरूले बुझिसकेका छन् ।

 

मलाई पनि सम्पर्क यस्तै संस्थाहरूले गरेका हुन् । सरकारको तर्फबाट मसँग कुरा भएको छैन । राज्य चलाउने मानिसहरूलाई चाहिँ उति चासो छैन कि जस्तो लागेको छ ।

 

राज्यले नीतिगत सहयोग गरेदेखि यहाँकाम निजी क्षेत्रले होटल, रेष्टुरेन्टदेखि लिएर समग्र पर्यटन क्षेत्रकै विकास कसरी गर्नुपर्छ भन्ने कुरा बुझेका छन् जस्तो लाग्छ ।

 

केही वर्ष अघिसम्म भारतीय खानाको हैसियत पनि मसालेदार र पेट भर्नका लागि खाने खाले मात्र थियो । पछिल्ला वर्षमा अतुल कोचर, विनित भाटीया जस्ता सेफले भारतीय खानाहरूलाई पनि ‘फाइन डाइन रेष्टुरेन्ट’को मेनुमा उकाले । अहिले तपाईंले नेपाली खानाको सन्र्दभमा गर्नुभएको पनि त्यही नै हो । नेपालीलाई अझै नेपाली खानाहरू पनि फाइन डाइनको मेनुमा पर्न सक्छन् भन्ने लागेकै छैन । यस्तो अवस्थामा नेपाली खानाको संभवत पहिलो रेष्टुरेन्ट नेपालमै किन नखोल्ने ? यसले निकै सकारात्मक सन्देश दिन्थ्यो कि ?

 

यो पक्कै पनि सही कुरा हो । तर नेपाली खानालाई एउटा हैसियतमा उकाल्नको लागि ठाउँ पनि उपयुक्त हुनुपर्छ भन्ने मेरो बुझाइ हो । उदाहरणको लागि मैले यूके मास्टर सेफमा भाग नलिएर भारतीय मास्टर सेफमा भाग लिएको भए हाम्रा खानाहरू भारतीय खानाहरू बीचमा नै हराउँथे । तर यूकेमा फरक ढंगले नेपाली खानाहरू बनाएका कारण यसले आफ्नो छुट्टै अस्तित्व र हैसियत प्राप्त गरेको हो । विश्वस्तरमा एकहदसम्म परिचित हुन सकेको हो ।

 

त्यसैले सही ठाउँमा सही काम गर्नुपर्छ भन्ने मेरो बुझाइ हो । लण्डनमा रेष्टुरेन्ट र नेपाली खानाहरू हिट भयो भने त नेपालमा पनि भइहाल्छ । विश्वभरी नै हुन्छ ।

नेपालमा सामान्य रेष्टुरेन्टमा खाना खाइरहेका मान्छेहरूलाई एकैपटक फाइन डाइन रेष्टुरेन्टमा लैजान सजिलो छैन । यसका लागि विस्तारै माहोल बनाउनुपर्छ र उपयुक्त ठाउँबाट बनाउनुपर्छ भन्ने मेरो बुझाइ हो ।

 

तपाईंको आागमी व्यवसायिक योजनाहरू के छन् ?

 

मैले ‘आयला’ भन्ने रेष्टुरेन्ट खोल्दै छु । मेरो किताब (कुक बुक)को नाउँ पनि यही हो । अहिले कोरोना महामारीको कारणले यो केही समयको लागि स्थगित भएको हो । यो ‘सेन्ट्रल लण्डन’मै खोल्ने योजना रहेको छ । यसका योजनाहरू, मेनु इत्यादि सबै तयार छन् । यो करिब १०–१५ लाख पाउण्ड (करिब १५–२२ करोड रूपैयाँ) मा खोल्न लागिएको रेष्टुरेन्ट हो ।

 

यता पनि कुराहरू भइरहेको छ । धेरै मानिसहरू, व्यवसायीहरूले पनि इच्छा देखाएका छन् । बैंकहरूले पनि ऋणको प्रस्ताव गरेका छन् । उहाँहरूले मलाई तपाईं के गर्न चाहनुहुन्छ ? भनेर सोध्ने गर्नुभएको छ । तर मैले पनि उहाँहरूलाई उहाँहरू के चाहनुहुन्छ भनेर सोध्ने गरेको छु । सँगै काम गर्ने हो यस्ता कुराहरूमा प्रष्ट हुनुपर्छ भन्ने मेरो विचार हो ।

 

फेरि म नेपालमा धेरै बसेको पनि छैन । नेपालमा व्यवसाय गर्नका लागि चाहिने ज्ञान म सँग छैन । अहिले म त्यही ज्ञान बटुल्ने प्रयास गरिरहेको छु । यसका अलावा मैले नेपालका किसानहरूबाट ‘ड्राइ टोमेटो’ (सुकेको गोलभेँडा), भाङ इत्यादि खरिद गर्ने र विदेशमा बेच्ने खाले व्यवसायिक योजनामा पनि सोचिरहेको छु ।

 

ठूलो लगानीमा लण्डनमा रेष्टुरेन्ट खोल्दै छु त भन्नुभयो । तर रेष्टुरेन्ट व्यवसायको दुईवटा पाटो हुन्छ । पहिलो खाना, दोस्रो व्यवसायिक योजना र प्रणाली । खानाको सन्दर्भमा तपाईंको कुनै जवाफ छैन । तर व्यवसायिक योजना राम्रो भएन भने जतिसुकै राम्रो खाना बनाए पनि रेष्टुरेन्ट सफल हुँदैन । यो कुरामा तपाईं कत्तिको सचेत हुनुहुन्छ ?

 

तपाईंले एकदमै सही भन्नुभयो । जागिर खानेलाई व्यवसायिक ज्ञान हुँदैन । व्यवसाय गर्नेले जागिरेले गर्ने जस्तो काम गर्न सक्दैन ।

 

मत अहिलेसम्म जागिर मात्र खाएको मान्छे । त्यसैले मैले व्यवसायिक ज्ञान हासिल गर्नुछ । त्यसैको लागि मैले अध्ययन गरिरहेको छु । सिक्ने प्रयास गरिरहेको छु । नत्र सानोतिनो भारतीय रेष्टुरेन्ट लण्डनमा खोलेर व्यवसाय गरिटोपल्ने मात्र हो भने त त्यो म भोलि नै पनि गर्नसक्छु । तर म त्यो बाटोमा छैन । विभिन्न व्यवसायीहरूसँग भेटिरहेको छु, सिक्ने प्रयास गरिहरको छु ।

 

Advertisement Section