पहिलो पटक चण्डीराज ढकाल अध्यक्ष हुँदा अञ्चल सदस्यबाट २०६२ सालमा नेपाल उद्योग वाणिज्य महासंघमा कार्यकारिणी सदस्यको रुपमा प्रवेश गरेका गुणनिधि तिवारी जिल्ला/नगर उद्योग वाणिज्य संघको लागि नयाँ नाम होइन ।
महासंघमा निरन्तर ५ कार्यकाल पूरा गरेका तिवारीले यसपटक जिल्ला/नगरतर्फको उपाध्यक्षमा उमेद्वारी दिने बताएका छन् । लामोसमय महासंघमा रहेर काम गरेका तिवारी अहिले महासंघको प्रदेश ५ को अध्यक्ष छन् । अगामी निर्वाचनको तयारी, उनले उठाएका मुद्दा र जिल्ला नगरको समस्याको विषयमा चाणक्यपोष्टले गरेको कुराकानीको सम्पादित अंशः
आगामी कार्यकालको लागि निर्वाचनको मिति घोषणा भइसकेको छ । तपाईं लामो समयदेखि महासंघमा संलग्न हुँदै आउनु भएको छ । यसपटक उपाध्यक्षमा उमेद्वारी दिने तयारी गर्दै हुनुहुन्छ । कसरी तयारी गर्दै हुनुहुन्छ ?
लुम्बिनी अञ्चल प्रतिनिधिको रुपमा म महासंघमा प्रवेश गरेको हुँ । १५ वर्षदेखि निरन्तर महासंघमा छु । जिल्लामा रहेका उद्योगीका आफ्नै किसिमका साना तिना समस्याले पनि व्यवसाय रोकिएको अवस्था छ । मैले नेपालको सबै जिल्ला नगरमा पुगेर व्यवसायीको गुनासो सुनेको छु । आफैँ जिल्लामा रहेर भोगेको छु । लामो यात्रामा अग्रजहरुले गुणनिधिले काम गर्न सक्छ । उ जिल्लामा भिजेको मान्छे हो भनि दिनु भएको छ । त्यसले मलाई जिल्ला दौडन र साथीहरुको दुःख–सुखको साक्षि बन्ने मौका प्रदान गरेको छ ।
जब नेतृत्वले विषयवस्तुमा पकड राखेर काम सुरु गर्छ तब सबै किसिमका मुद्दामा अगाडि बढ्न सहज हुन्छ । त्यसैले लगानीको वातावरण, स्थानीय स्तरमा रहेका कर विवाद, एकद्धार प्रणालीमा उद्योगका काम, बैंक व्याजदरको विषय जस्ता मुद्दा ओझेलमा पर्दैनन् ।
१५ वर्ष सदस्य भएपछि जिल्ला नगरको नेतृत्व गरौं भन्ने चाहना हुनु स्वभाविक हो जस्तो लाग्छ । अहिले सबै साथीहरुले तपाईं उपाध्यक्षमा आउनु पर्छ भनिरहनु भएको छ । साथीहरुसँगै जिल्ला नगरका कार्यक्रममा जाने र उहाँहरुको कुरा सुन्ने काममै व्यस्थ छु ।
जिल्ला उद्योग वाणिज्य संघ र त्यहाँ रहेका उद्योगी व्यवसायीले भोगिरहेका समस्या कस्ता रहेका छन् ?
स्थिर सरकार छ । सरकारले केही काम गरिरहेको पनि छ । तथापि, लगानी मैत्री वातावारण बनिसकेको देख्न पाइएको छैन । ऐन कानुन बन्दै गरेको भए पनि त्यसको कार्यान्वयन पक्षमा अन्योलता छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार बीचमा रहेका केही अन्योलताले अहिलेपनि विभिन्न सरकारहरु उद्योग व्यवसाय मैत्री बन्न सकिरहेका छैनन् ।
बैंकको व्याज, कर प्रशासनको समस्या जस्ता विषयले जिल्ला नगरमा रहेर उद्योग, व्यवसाय वा व्यापार गर्नेहरु समस्यामा परिरहेका छन् । यी विषयलाई महासंघको नेतृत्वले उठाइ रहेको छ । यही समस्या समाधान गर्ने मुद्दा मेरो प्राथमिकतामा पर्ने छन् ।
निर्वाचन नजिकिँदै गर्दा जोडतोडले उठ्ने मुद्दा निर्वाचनपछि छाँयामा पर्छ भन्ने गुनासा आम उद्योगी व्यवसायीले गर्दै आएका छन् । यस्तोमा तपाईंले उठाउने मुद्दा कमजोर हुँदैन भन्ने आधार के छन् ?
महासंघ समूहिक नेतृत्व भनिए पनि यसको मुख्य नेतृत्व अध्यक्षले गर्नुहुन्छ । हामीले पनि आगामी अध्यक्षको रुपमा शेखर गोल्छालाई पाइसकेका छौं । उहाँको व्यवसायीक नेतृत्वमा हामीले आफूले बोलेका विषय कार्यान्वयनमा लाने हो । यस्तोमा मैले उठाएका मुद्दामा उहाँको पनि एकवद्धता रहने मैले विस्वाश लिएको छु । किन भने उहाँको जुन व्यवसायीक अनुभव छ, त्यसले परेका समस्या राख्न कुनै कठिनाइ हुँदैन ।
जब नेतृत्वले विषयवस्तुमा पकड राखेर काम सुरु गर्छ तब सबै किसिमका मुद्दामा अगाडि बढ्न सहज हुन्छ । त्यसैले लगानीको वातावरण, स्थानीय स्तरमा रहेका कर विवाद, एकद्धार प्रणालीमा उद्योगका काम, बैंक व्याजदरको विषय जस्ता मुद्दा ओझेलमा पर्दैनन् ।
जिल्ला नगरका सदस्यहरुले सधैं भन्ने करको समस्या समाधान गर्न तपाईंको भूमिका कस्तो रहन्छ ?
स्थानीय सरकारसँग धेरै समस्या देखिएका छन् । त्यसैले तीनै तहका सरकारसँग बसेर छलफल गर्दै संघीय संरचनामा करको समस्या समाधान गर्न विभिन्न फोरम चलाएर लाने सोच बनाएको छु ।
हरेक जिल्लामा यस्ता फोरम चलाउन सक्ने हो भने त्यसले सरकारी संयन्त्रलाई केही बुझाउन सक्ने अवस्था आउँछ । र, यी समस्या विस्तारै हल हुँदै जान्छन् ।
छोटोकरीमा भनिदिनुस्न गुणनिधि तिवारीलाई किन जिल्ला नगरको उपाध्यक्षमा भोट दिने ?
मैले विगत १५ वर्ष महासंघमा रहेर काम गरे । त्यसबाट केही सिक्ने मौका पाएको छु । यदि म उपाध्यक्ष भएर आए भने जिल्ला नगरको गतिविधि बढाएर जिल्लामा रहेका साना मझौला सहितको व्यवसाय लागि काम गर्नेछु ।
मैले निरन्तर जिल्ला नगरको लागि काम गर्दा आफ्नो स्वार्थलाई अगाडि ल्याएर काम गरेको छैन र गर्दिन पनि । हरेक साथीलाई परेका समस्या आफैलाई परेजसरी लिएर हिँडेको छु र हिँडिरहन्छु ।