रोजगारदाताको व्यवसाय रहेन कामदारको हित हुन्छः सौरभ ज्योतिको अन्तर्वार्ता
चाणक्य पोष्ट
प्रकाशित : 11:20 am, बिहीबार, पुस १७, २०७६

ज्योति समुह अन्तर्गतको तेस्रोपुस्ताका युवा उद्यमीको रुपमा सक्रिय सौरभ ज्योति युवापुस्तामा परिचित नाम हो । नेपालमा उत्पादन मूलक उद्योग, सेवा उद्योग र ट्रेडिङ व्यवसायमा सक्रिय उनि नेपालका विभिन्न संघ–संस्थामापनि उत्तिकै सक्रिय रहेका छन् ।

 

युवा उद्यमी मञ्च र नाडा जस्ता व्यवसायीक संघ–संस्थाको नेतृत्व गरिसकेका उनी विगत १२ वर्षदखि नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यकारी समिति सदस्यको रुपमा काम गर्दै आएका छन् । यस दौरान उनले विभिन्न समितिहरुको सभापतित्व समेत गरेका छन् । आगामी चैत २८ गते हुने महासंघको साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने हुँदा उनले यसपटक आफु एसोसिएयटतर्फको उपाध्यक्षमा उमेद्वारी दिने घोषणा गरिसकेका छन् । यसै सेरोफेरोमा रहेर चाणक्य पोष्टका लागि ब्रबिम बिक्रम थापाले गरेको कुराकानीको सम्पादित अंशः

 

तपाईं उद्योग वाणिज्य महासंघको आगामी चुनावमा एसोसियट उपाध्यक्षको प्रत्यासी बनेर चुनाव लड्दै हुनुहुन्छ । तपाईंको लागि यो संस्था नयाँ होइन, विगत १२ वर्षदेखि यसमा आबद्ध हुनुहुन्छ । तपाईंकै परिवारको सदस्यले यो संस्थाको नेतृत्व गरिसकेको अवस्था पनि हो । यो सबै पृष्ठभुमिमा तपाईं उद्योग वाणिज्य महासंघ भन्ने संस्थालाई कसरी बुझ्नुहुन्छ । यो संस्था आधारभुत रुपमा कस्तो संस्था हो ?

 

मेरो बुबाले यो संस्थामा धेरै योगदान दिनुभएको छ । नेपाल–भारत ब्यापार सन्धिमा उहाँले महत्वपूर्ण भूमिका खेल्नुभयो । एक ढंगले त्यसको नेतृत्व नै गर्नुभयो भन्दा पनि हुन्छ । र, यो उहाँले उद्योग वाणिज्य महासंघ मार्फत नै गर्नुभएको हो । मैले पनि विगत १२ वर्षदेखि महासंघमा रहेर धेरै काम गर्ने अवशर पाएको छु । यी १२ वर्षमा चारवटा समितिमा सभापतित्व गरिसकेको छु । यो मेरा लागि महत्वपूर्ण अवसर हो, सिक्नका लागि । यसमा मैले निजी क्षेत्रका सबै साथिहरुको सहयोग र समर्थन पाएँ ।

 

अब महासंघ के हो भन्ने जहाँसम्म प्रश्न छ, यो निजी क्षेत्रको हकहित प्रबद्र्धन गर्ने छाता संगठन हो । देशमा आर्थिक विकासको लागि लड्नुपर्ने एउटा ठूलो संस्था हो । एक किसिमले भन्दा यो ‘थिङ्क ट्याङ्क’ संस्था पनि हो, जसले लगानी र आर्थिक विकासको लागि चाहिने नीतिगत परिर्वतनहरुको लागि पनि आफ्नो योगदान दिन्छ । यो राजनीतिक संस्था होइन ।

 

लगानीको वातावरण नीतिगतरुपमा तयार पार्नु पनि मेरो अर्को प्रमुख जिम्मेवारी हो । यसका लागि हाम्रो सचिवालयलाई सुदृढ बनाउँदै सरकारलगायत सबै सरोकारवालाहरुसँग सुमधुर सम्बन्ध कायम गर्नुलाई पनि मैले महत्वपूर्ण जिम्मेवारीको रुपमा लिएको छु ।

 

तर, पछिल्लो समय महासंघमा व्यापक परिर्वतन आएको छ । राजनीति हावी भएको छ । कतिपय कमिकमजोरीहरु देखा परेका छन् । महासंघमा आबद्ध निजी क्षेत्रहरुको एक्यबद्धतामा कमी आएको छ । यसका उद्देश्यहरुको पुर्तिको लागि हामी जसरी अगाडि बढ्न सक्नुपर्ने हो, त्यसरी बढ्न नसकेकै हो । हामी बीच स–साना बिषयहरुमा विवाद भइरह्यो ।

 

अहिले मुलुकको आर्थिक अवस्था सुस्ताएको छ । युवाहरु रोजगारीको अभावमा पलायन हुने क्रममा कमी आउन सकेको छैन । यस्तो अवस्था आउनुमा एकहदसम्म हाम्रो पनि गल्ती छ । नेपाल सरकार पछि यदि यसमा कसैको सबैभन्दा ठूलो भूमिका छ भने त्यो हाम्रो हो । अहिले देशमा राजनीतिक स्थायित्वलगायत आर्थिक क्रियाकलापमा पनि वृद्धि भइरहेको छ । संघियता कार्यान्वयनमा गइसकेको छ । पूर्वाधार निर्माण तिब्र गतिमा भइरहेको छ । यस्तो अवस्थालाई दिगो आर्थिक विकासमा बदल्ने मौका अब हातबाट उम्कन दिनु हुँदैन । नयाँ आउने नेतृत्वको प्रमुख कार्यभार पनि सायद यहि नै होला ।

 

तपाईंले महासंघका अन्र्तनिहित उद्देश्यहरुका बारेमा केही प्रष्ट पार्नुभयो । र, पछिल्लो समय महासंघ आफ्ना उद्देश्यहरुमा खरो रुपमा उत्रन नसकेको पनि बताउनुभयो । यदि तपाईं आगामी कार्यसमितिमा उपाध्यक्षको रुपमा आउनुभयो भने यस्ता उद्देश्यहरुमा महासंघलाई खरो रुपमा उर्तानको लागि तपाईंसँग कस्ता योजनाहरु छन् ?

 

मैले उपाध्यक्षको रुपमा महासंघमा शुरु गर्न चाहेको पहिलो काम भनेको ‘टिम वर्क’ को संस्कृति हो । त्यहाँ एसोसियट तर्फको उपाध्यक्षको रुपमा मेरो अर्को जिम्मेवारी भनेको रोजगारदाता परिषद्को नेतृत्व हो । यहाँ मेरो काम भनेको रोजगारदाताहरुको पनि हकहित स्थापित गर्नु हुनेछ । नेपालमा जहिल्यै पनि ट्रेड युनियनको रुपमा कामदारको हकहितको मात्र चर्चा हुने गरेको छ । रोजगारदाताकै व्यवसाय रहेन भने कामदारको मात्र हित कसरी हुन्छ त ? यो प्रश्नको सन्तुलित उत्तर खाज्नु मेरो अर्को प्रमुख काम हो ।

 

लगानीको वातावरण नीतिगतरुपमा तयार पार्नु पनि मेरो अर्को प्रमुख जिम्मेवारी हो । यसका लागि हाम्रो सचिवालयलाई सुदृढ बनाउँदै सरकारलगायत सबै सरोकारवालाहरुसँग सुमधुर सम्बन्ध कायम गर्नुलाई पनि मैले महत्वपूर्ण जिम्मेवारीको रुपमा लिएको छु ।

 

यसले निजी क्षेत्रलाई बलियो पार्छ र देश विकासमा प्रभावकारी भूमिका खेल्न सक्ने बनाउँछ । अन्तत्वगत्व निजी क्षेत्रले नै देशको विकास गर्ने हो नी ।

 

तपाईं निजी क्षेत्रले नै हो देश विकासको नेतृत्व गर्ने भन्नुहुन्छ । तर, तपाईहरु कमजोर हुँदा सरकार हावी भएर ‘मै हो देश विकास गर्ने प्रमुख शक्ति’ भनेर भन्दै गरेको जस्तो लाग्दैन तपाईंलाई, उसको व्यवहार हेर्दा ?

 

नेपाल सरकार भनेको पनि हामी जस्तै व्यक्तिहरुको संस्था त हो नी । उहाँहरुको सेवाको क्षेत्र फरक परेको मात्र हो । हामी एक अर्काको परिपुरक नै हौं । सरकार वा राज्य भनेको पनि निजी क्षेत्रको नै फरक र विस्तारित रुप हो ।

 

उहाँहरुले नीति बनाउने बिषयको नेतृत्व गर्नुहुन्छ । हामी त्यसको कार्यान्वयनको पक्षको नेतृत्व गर्छौं । हामी एक अर्काको सहयोगी भएर नै समग्र मुलुकको हितको लागि काम गर्ने हो ।

 

 

आर्थिक विकासको लागि सरकार र निजी क्षेत्रको छाता संगठनले मात्र काम गरेर त पुग्दैन । त्यसका लागि त समग्र जनतामा उद्यमशिलताको विकास हुनुपर्यो । तपाई एउटा उद्यमीको रुपमा नेपालमा उद्यमशिलताको विकासको लागि के गरिनुपर्छ भन्ने ठान्नुहुन्छ ?

 

उद्यमशिलताको लागि सबैभन्दा पहिले हामीले हाम्रा प्राथमिकताको क्षेत्रकै पुर्नव्याख्या गर्नुपर्छ । सरकारले पर्यटन, कृषि र हाइड्रोलाई प्राथमिकताको क्षेत्र तोकेको छ ।

 

हाइड्रोलाई अब उर्जा भन्न थाल्नु पर्यो । हाइड्रोमा त धेरै लगानी लाग्छ । त्यसैले ठूलो लगानी गर्न सक्नेले यो क्षेत्रमा गरुन् । नसक्नेले उर्जाको अन्य क्षेत्रमा काम गरुन । सोलार प्यानल धेरै सस्तो भइसकेको अवस्था छ । वायु उर्जा अर्को विकल्प हुनसक्छ ।

 

कृषिमा पनि कच्चा पदार्थ मात्र उत्पादन गर्न तिर ध्यान दिनु भएन । कच्चा पदार्थमा थोरै ‘भ्यालु ऐड’ गर्न सके दुई–तीन गुणा बढिमा बेच्न सकिन्थ्यो । अलैंची, दालचिनी इत्यादी निर्यात गर्दा थप प्रशोधन गरेर बेच्न सके कुल निर्यात रकम पनि बढाउन यसले सहयोग पुर्याउन सक्छ । उच्च मूल्यमा बेच्न सकिने जिडिबुटिहरु तर्फ ध्यान लगाउँदा भयो । पर्यटनमा पनि संख्यात्मक भन्दा गुणस्तरिय पर्यटकमा पनि ध्यान दिन सकिन्छ । भुटानलाई उदाहरणको रुपमा लिँदा भयो ।

 

अहिले राज्यको कुल करको ८० प्रतितश जम्मा ८०० जनाले तिरिरहेका छन् । यसलाई त स्वीकार गर्नुपर्यो नी । उद्यमीलाई सम्मान त गर्नैपर्छ । राज्यको पनि भूमिका आउँछ यहाँनेर । अनी समाजले आफ्नो चेतना उकास्नुको विकल्प छैन ।

 

औद्योगिक क्षमता बढाउनुपर्छ भनेर परम्परागत ढंगले भनेर मात्र हुँदैन । यसमा हाम्रो अन्र्तनिहित क्षमता नहुन पनि सक्छ । प्रतिस्पर्धात्मक क्षमता बढि भएका अन्य प्रविधिजन्य क्षेत्रमा जानुपर्यो । डिजिटल नेपालको अवधारणामा आधारित भएर अगाडि बढ्नु पर्ने हो की ? यसमा छलफल हुनु पर्छ ।

 

समग्रमा भन्दा उद्यमशिलताको विकासको लागि सबैभन्दा पहिले हामीले हाम्रो प्रतिस्पर्धात्मक क्षमता भएका प्राथमिकताको क्षेत्रहरु पहिल्याउनुपर्यो । र, त्यसका लागि केही परम्परागत मूल्य र मान्यताहरुमा पुर्नविचार गर्न तयार हुनुपर्छ ।

 

 

तपाईंले नेपालमा उद्यमशिलताको विकासको लागि पहिलो कामको रुपमा प्राथमिकताका क्षेत्रहरुमा पुर्नविचार गर्नुपर्छ भन्नुभयो । तर, नेपालमा त प्राथमिकताको क्षेत्रभन्दा पनि उद्यमीहरुले समाजको सम्मान र साथ नै नपाएको अवस्था छ । उदाहरणको लागि केही समय अघि केही कलाकारहरुलाइ राज्यले पक्राउ गर्दा समाजले जुन ढंगले साथ दियो तपाईंको परिवारमा पनि त्यस्तै घटना हुँदा तुलनात्मक रुपमा कम साथ दियो । उद्यमीहरु ‘ठग’ वा ‘चोर’का रुपमा चिनिन्छन् । यसलाई चाँहि तपाईं उद्यमशिलताको तगारोको रुपमा बुझ्नुहुन्न ?

 

यसमा सत्यता पक्कै पनि छ । उद्योगी भनेको ठग हो, नाफा कमाउनु भनेको अपराध हो भन्ने जस्तो जुन सोच छ, त्यसमा त ब्यापक परिर्वतनको खाँचो छ । नेपालले जुन किसिमको अर्थव्यवस्था अवलम्बन गरेको छ, त्यसले उद्योगी, उत्पादन, वितरण र नाफलाई समग्र आर्थिक प्रक्रिया कै रुपमा बुझेको छ । यसलाई त स्वीकार्नै पर्छ । अनी उद्यमीले उत्पादनमा प्रचुरता ल्याए मात्र न संबिधानले भने बमोजिमको समाजवादको यात्रा देशले अंगिकार गर्न सक्छ !

 

अहिले राज्यको कुल करको ८० प्रतितश जम्मा ८०० जनाले तिरिरहेका छन् । यसलाई त स्वीकार गर्नुपर्यो नी । उद्यमीलाई सम्मान त गर्नैपर्छ । राज्यको पनि भूमिका आउँछ यहाँनेर । अनी समाजले आफ्नो चेतना उकास्नुको विकल्प छैन ।